काठमान्डौ। प्रधानमन्त्री वालेन्द्र शाहले विद्यार्थीहरूले राजनीतिका पाठहरू नेताका भीडबाट नभई आफ्ना गुरुहरूबाट सिक्नुपर्ने धारणा व्यक्त गरेका छन्। विद्यालय तथा विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन हटाउने र कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको हालैको निर्णयबारे स्पष्ट पार्दै उनले यस्तो बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले शैक्षिक क्षेत्र र प्रशासनिक संयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनु नै सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गरे। विद्यार्थीले राजनीति सिक्नुपर्ने तर त्यो सभ्यता, विचार र जिम्मेवारीमा आधारित हुनुपर्ने उनको तर्क छ। यस्तै, कर्मचारीहरूले कुनै विशेष राजनीतिक दलको छहारी खोज्नुभन्दा विधि र विधानको पालना गर्दै जनताको सेवामा समर्पित हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार यो कदम वर्तमान प्रणालीलाई जोगाउन, देशको भविष्य सुरक्षित गर्न र राज्यका निकायहरूलाई दलगत कब्जाबाट मुक्त गरी संस्थागत मार्गमा ल्याउनका लागि चालिएको हो। “हामी शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्न चाहन्छौँ,” उनले लेखेका छन्, “जनताकै चाहनाअनुरूप अध्यादेशमार्फत यी विकृतिहरू हटाउने प्रयास गरिएको हो।” उनले मुलुकलाई सही दिशामा डोऱ्याउने यो अभियानमा सम्पूर्ण नागरिकको साथ र सहयोगका लागि अपिल समेत गरेका छन्।
