काठमान्डौ। केही दिनदेखिको निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेका देशका विभिन्न मुख्य राजमार्गहरू आंशिक रूपमा सञ्चालनमा आएका छन्। प्रहरीका अनुसार बाढी-पहिराले पूर्ण रूपमा ठप्प भएका सडकखण्डहरूलाई सफा गरेर एकतर्फी रूपमा यातायात सञ्चालन योग्य बनाइएको हो।
गत वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग अहिले सुचारु भएको छ। यस्तै, वैशाख १६ गतेको पहिरोका कारण रोकिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड र लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा आएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभएको छ।
यद्यपि, वैशाख १६ गतेकै पहिरोले अवरुद्ध भएको सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्ग भने अझै खुल्न सकेको छैन। त्यहाँ सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। वर्षात्को समयमा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले एकतर्फी सञ्चालनमा रहेका र जोखिमपूर्ण सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र सतर्कतापूर्वक यात्रा गर्न प्रहरीले सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेको छ।
