आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सत्य र तथ्यपूर्ण सूचना प्रवाहमा राष्ट्रपति र उपराष्ट्रपतिको जोड

परदेशी खबर २०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( २ महिना अघि) १०० पाठक संख्या

काठमाडौँ,। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगत्लाई संविधानले दिएको अधिकारको पूर्ण प्रयोग र रक्षा गर्दै निर्भयका साथ आम नागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारिताको मुख्य धर्म नै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही कुरा स्थापित गर्नु रहेको बताउनुभयो । उहाँले नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै सूचना सङ्कलनदेखि प्रवाहसम्मका सबै प्रक्रियामा सञ्चारकर्मीहरू निर्बाध रूपमा संलग्न भई सबै वर्ग र समुदायको आवाजलाई मुखरित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिज्ञापन (Sponsored)

यसै उपलक्ष्यमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रता केवल पत्रकारको मात्र नभई सत्य जान्न पाउने र विवेकपूर्ण निर्णय गर्ने सम्पूर्ण नागरिकको साझा अधिकार भएको उल्लेख गर्नुभएको छ । पछिल्लो समय प्रविधिको विकाससँगै सञ्चार माध्यमहरू मुद्रित र प्रसारणमा मात्र सीमित नरही सामाजिक सञ्जालमार्फत सूचना प्रवाह तीव्र भएको उहाँको भनाइ छ । यद्यपि, एल्गोरिदमको बढ्दो प्रभावका कारण कहिलेकाहीँ सत्य समाचार ओझेलमा पर्ने र भ्रामक सामग्रीहरू अगाडि आउने चुनौती थपिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । यस्ता चुनौतीका बिच सञ्चार क्षेत्रले सधैँ व्यावसायिक मर्यादा र सत्यतालाई प्राथमिकता दिनुपर्ने सन्देशमा उल्लेख गरिएको छ ।