आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

वैदेशिक रोजगारी छोडेर गाउँमा बाख्रापालनमा

परदेशी खबर २०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( २ महिना अघि) ९७ पाठक संख्या

काठमान्डौ। रामेछापको मन्थली नगरपालिका– ४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छोडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छन् । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनलाई अरुको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन् ।

बिज्ञापन (Sponsored)

‘अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ’, केसीले भनिन् । बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब २० लाख रुपैयाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन् । बाख्रापालन मात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाइन् ।

२०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताइन् । उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेकी छन् ।

उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन् । उनले भने, ‘मेरा पाँच छोरीमध्ये अरु सबै शहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्‌श्रीमती पनि काठमाडौंमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।’

गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ । तर, पनि उनी निरन्तर बाख्रापालन खटिएकी छन् । ‘सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ’, केसीले भनिन् । रासस