आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

पहिराले देशभरका मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध, उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह

परदेशी खबर २०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( २ महिना अघि) ९२ पाठक संख्या

काठमान्डौ। नेपालका विभिन्न भागमा केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण आएको पहिराले देशभरका मुख्य राजमार्ग र सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार आज बिहान खसेको पहिराले धेरै ठाउँको यातायात आवागमन ठप्प पारेको छ। विशेष गरी ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्ति लोकपथ, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड र मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्ति लोकपथ पहिराका कारण पूर्ण रूपमा बन्द भएका छन्।

बिज्ञापन (Sponsored)

यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङमा खसेको पहिराले मध्यपहाडी लोकमार्ग पनि ठप्प बनाएको छ। केही दिनअघि (वैशाख १६ गते) कोदारीस्थित अरनिको राजमार्गमा खसेको ठुलो पहिरो अझै पन्छाउन नसकिँदा सो मार्ग हालसम्म सञ्चालनमा आउन सकेको छैन। यद्यपि, केही स्थानमा भने अवरोध हटाउने प्रयास सफल भएका छन्। वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुरको मध्यपहाडी लोकमार्ग र वैशाख १६ गते म्याग्दीको बेनी–जोमसोम सडकखण्ड भने हाल एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

वर्षायामको सुरुवातसँगै बाढी र पहिराको जोखिम बढ्दै गएकाले प्रहरीले आम नागरिकलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन अपिल गरेको छ। अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहे पनि निरन्तरको वर्षा र भौगोलिक कठिनाइका कारण समस्या भइरहेको छ। त्यसैले, राजमार्गमा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन र सम्भावित जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सुरक्षित रहन प्रहरीले विशेष आग्रह गरेको छ।