आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

राजनीतिक नियुक्ति खारेजीमा कांग्रेसको आपत्ति: ‘सुधारका नाममा आफ्ना कार्यकर्ता भर्ना गर्ने दाउ’

परदेशी खबर २०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( २ महिना अघि) ८९ पाठक संख्या

काठमान्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै अघिल्लो सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज हुने प्रक्रिया सुरु भएको छ। सरकारको यस कदमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा टिप्पणी गर्दै अबका नियुक्तिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता व्यवस्थापन गरिने दाबी गरेको छ।

बिज्ञापन (Sponsored)

पार्टी प्रवक्ता देवराज चालिसेले सरकारको यस कदमको आलोचना गर्दै कार्यपालिकाले आफ्नो नीति कार्यान्वयनका लागि अनुकूल व्यक्ति खोज्नु स्वाभाविक भए पनि पुराना नियुक्तिलाई ‘दलीय’ भन्दै बदनाम गर्नु गलत भएको बताउनुभयो। उहाँले नयाँ नियुक्तिका नाममा केवल आफ्ना मान्छे भर्ती गर्ने ‘क्षणिक राजनीति’ नगर्न सरकारलाई चेतावनी दिनुभएको छ।

प्रवक्ता चालिसेले रास्वपाभित्र पनि विभिन्न राजनीतिक पृष्ठभूमि भएका नेता-कार्यकर्ता रहेको उल्लेख गर्दै अरू दलका पालाका नियुक्तिलाई सामूहिक रूपमा अस्वीकार गर्ने सरकारको नियतमाथि प्रश्न उठाउनुभयो। “यहाँ कोही पनि निर्दलीय छैन, रास्वपा पनि एउटा दल नै हो। अरूलाई अयोग्य देखाएर आफ्ना दलीय कार्यकर्ता भर्ती गर्ने संस्कृतिको हामी विरोध गर्छौँ,” उहाँले भन्नुभयो।

समाजमा हरेक व्यक्तिको कुनै न कुनै विचार वा आस्था हुने तर्क गर्दै प्रवक्ता चालिसेले आस्थाकै आधारमा योग्य व्यक्तिलाई पनि अयोग्य घोषणा गरी घृणा फैलाउने प्रवृत्तिले समाजलाई सही दिशामा नलैजाने धारणा राख्नुभयो। उहाँले नाता र सम्बन्धका आधारमा नभई व्यक्तिको योग्यता र क्षमताको कदर हुनुपर्नेमा जोड दिनुभएको छ। सरकारले ल्याएको पछिल्लो अध्यादेशले प्रशासनिक र राजनीतिक स्थिरतामा दखल पुर्‍याउने कांग्रेसको निष्कर्ष रहेको छ।