काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शनिबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका विशेष दूत गोर र सभापति लामिछानेबीच भएको उक्त भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय हित तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको हो ।
भेटका क्रममा विशेष दूत गोरले नेपालको वर्तमान राजनीतिक अवस्था र सरकारले अघि सारेका सुधारका योजनाहरूको प्रशंसा गर्नुभएको छ । भेटवार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गोरले भन्नुभएको छ, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि अविश्वसनीय जनादेश छ र उनीहरूले घोषणा गरेका सुधारका कदमहरू निकै आशाजनक रहेका छन् ।’
बिहीबार साँझ काठमाडौं आइपुग्नुभएका गोरले नेपाल बसाइका क्रममा सभापति लामिछानेका अतिरिक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उच्चस्तरीय भेटघाटका क्रममा उनले नेपालको आर्थिक विकास र सुशासनका क्षेत्रमा अमेरिकी सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । काठमाडौंका महत्वपूर्ण राजनीतिक भेटघाटहरू सकेर विशेष दूत गोर शनिबार राति नै नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
