आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

निर्वाचन परिणाम अस्वाभाविक र रहस्यमय छ, गहिरो अनुसन्धान आवश्यक: प्रचण्ड

परदेशी खबर २०८३ बैशाख १७, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ११९ पाठक संख्या

काठमान्डौ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै सम्पन्न फागुन २१ गतेको निर्वाचन र त्यसको परिणामलाई असामान्य एवम् अस्वाभाविक संज्ञा दिनुभएको छ। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुम पश्चिमको मुसिकोटमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले निर्वाचनको सूक्ष्म समीक्षा र गहिरो अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो।

बिज्ञापन (Sponsored)

प्रचण्डले चुनावी परिणाम सोचेभन्दा फरक आएको र कतिपय स्थानका रिपोर्टहरू शङ्कास्पद रहेको बताउनुभयो। कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत नदेखिएको र कतिपय अप्रत्याशित क्षेत्रमा भारी मत खसेको जस्ता रिपोर्टहरू प्राप्त भएकाले यसलाई सामान्य रूपमा लिन नसकिने उहाँको तर्क थियो। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै दुई तिहाइ मतलाई भने पार्टीले स्वीकार गरेको उहाँले स्पष्ट पार्नुभयो।

कम्युनिस्ट आन्दोलनमा आएको धक्कालाई आत्मसात् गर्दै प्रचण्डले अब सिङ्गो कम्युनिस्ट आन्दोलनकै पुनर्गठन आवश्यक रहेको बताउनुभयो। पार्टीको विस्तारित बैठकले यसबारे ठोस निर्णय गरिसकेको र वडादेखि केन्द्रसम्मै ५० प्रतिशत युवा र नव युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै नेतृत्व चयन गरिने उहाँले जानकारी दिनुभयो।

वर्तमान सरकारको भूमिकाप्रति कडा टिप्पणी गर्दै उहाँले सुकुमवासीमाथिको बल प्रयोग, ट्रेड युनियन खारेजीको प्रयास र अध्यादेशमार्फत शासन चलाउन खोज्नु असंवैधानिक र निरङ्कुशताको सङ्केत भएको आरोप लगाउनुभयो। सरकारको ‘अभिभावक’ को रूपमा आफूले राम्रा कामको समर्थन र जनविरोधी कार्यको रचनात्मक आलोचना गरिरहने उहाँको भनाइ थियो। उहाँले सरकारलाई आफ्ना गल्तीहरू सुधार्न आग्रह गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि पुराना दलहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।