काठमान्डौ। नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सामाजिक सञ्जालमा साझा गरेको आफ्नो नेटवर्क नक्सामा गम्भीर त्रुटि देखिएपछि माफी मागेको छ। निगमले पोस्ट गरेको उक्त नक्सामा भारतको जम्मु-कश्मिर क्षेत्रलाई पाकिस्तानको भूभागमा देखाइएको थियो, जसको चौतर्फी आलोचना भएपछि निगमले तत्काल कदम चालेको हो।
बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर प्राविधिक त्रुटि भएको स्वीकार गरेको छ। “हाम्रा सामाजिक सञ्जालमार्फत हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं,” निगमले भनेको छ, “उक्त नक्साले नेपाल सरकार वा नेपाल एयरलाइन्सको आधिकारिक धारणालाई प्रतिबिम्बित गर्दैन।” निगमले सो सामग्रीले छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धमा कुनै असर नपरोस् भन्ने चाहना राख्दै पोस्ट हटाइसकिएको र यस्तो गल्ती कसरी भयो भन्नेबारे आन्तरिक समीक्षा भइरहेको समेत जानकारी दिएको छ।
उक्त नक्सा सार्वजनिक भएलगत्तै विशेषगरी भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र आक्रोश पोखेका थिए। भारतीय नागरिकहरूले नेपाल एयरलाइन्सलाई ‘भारत विरोधी’ को संज्ञा दिँदै विभिन्न ह्यासट्याग प्रयोग गरेर विरोध जनाएका थिए। यसै क्रममा भोजपुरी चलचित्रका चर्चित अभिनेता खेसारी लाल यादवले पनि एक्स (ट्विटर) मार्फत कडा आपत्ति जनाउँदै जम्मु-कश्मिर जस्तो संवेदनशील विषयमा गरिएको यस्तो छेडछाड सामान्य नभएको टिप्पणी गरेका थिए।
निगमले भविष्यमा आफ्ना सामग्रीहरूमा उच्चतम शुद्धता कायम गर्ने र छिमेकी देशहरूसँगको सुमधुर सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै पोस्टबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको छ।

