आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, कतै एकतर्फी सञ्चालनमा

परदेशी खबर २०८३ बैशाख १७, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ११४ पाठक संख्या

काठमान्डौ। अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। बाढी–पहिरोले बागमती र गण्डकी प्रदेशका केही महत्वपूर्ण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्।

बिज्ञापन (Sponsored)

नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका–२ कोदारीमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। चीनसँगको व्यापारिक नाका जोड्ने यो सडक खण्ड बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको छ। त्यसैगरी, लमजुङमा पर्ने मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण ठप्प बनेको छ, जसले गर्दा पहाडी जिल्लाहरूको आवागमनमा कठिनाइ भएको छ।

अवरुद्ध भएका केही सडकहरूमा भने पहिरो पन्छाएर आंशिक रूपमा यातायात सुचारु गरिएको छ। भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा पनि सुरक्षाकर्मी र स्थानीय निकायको पहलमा पहिरो पन्छाएपछि एकतर्फी यातायात सुचारु भएको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न सम्बन्धित निकायले आग्रह गरेका छन्।