काठमाडौं महानगरपालिकाले नगरवासीलाई स्वरोजगार बनाउन र उद्यमशीलता प्रवर्द्धन गर्न सहुलियतपूर्ण ब्याज दरमा ऋण उपलब्ध गराउने योजना अघि सारेको छ। यसका लागि महानगरपालिका र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच साझेदारी कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र कोषका प्रशासन शाखा प्रमुख सुदप सिल्वालले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
यस कार्यक्रम अन्तर्गत उद्यमीहरूले सुरुमा ८ प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्नेछन्। तर, तोकिएको मापदण्ड अनुसार समयमै ऋण चुक्ता गर्ने र असल ऋणीको पहिचान बनाउने व्यक्तिलाई ब्याजमा ६० प्रतिशत अनुदान दिइने व्यवस्था गरिएको छ। यसरी प्राप्त हुने अनुदानपछि ऋणीका लागि वास्तविक ब्याज दर मात्र ३.२ प्रतिशत कायम हुनेछ। महानगरपालिका र स्वरोजगार कोषले २/२ करोड रुपैयाँ विनियोजन गरी कुल ४ करोडको संयुक्त कोष स्थापना गर्नेछन्, जसलाई बैंक, वित्तीय संस्था र सहकारीमार्फत लगानी गरिनेछ।
यो कर्जा प्राप्त गर्नका लागि काठमाडौं महानगरपालिका क्षेत्रका स्थायी बासिन्दा हुनुपर्नेछ। योजनामा विशेषगरी विपन्न वर्ग, महिला, दलित, आदिवासी जनजाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, र विदेशबाट फर्केका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। व्यक्तिगत रूपमा उद्यम गर्न चाहनेले अधिकतम ५ लाख रुपैयाँसम्म र १५ जनासम्मको समूहमा काम गर्न चाहनेले ५० लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन्। यसका लागि उद्यम विकास तालिम लिएका वा विशेष सीप भएका व्यक्तिहरू योग्य मानिनेछन्।
लगानीका लागि विभिन्न क्षेत्रहरू तोकिएका छन्। जसमा एग्रोपुलिङ, नर्सरी, पुष्प व्यवसाय, फोहर प्रशोधन, सूचना प्रविधिमा आधारित व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक्स, र डिजिटल सेवाहरू रहेका छन्। यस्तै, साना तथा घरेलु उद्योग, स्वास्थ्य हेरचाह, यातायात सेवा, सिल्पकला, परम्परागत सीप, होमस्टे, र खुद्रा पसल जस्ता स्वदेशी श्रम र सीपमा आधारित व्यवसायलाई पनि ऋण उपलब्ध गराइनेछ। यो कार्यक्रमले ‘एक वडा एक नमुना’ कार्यक्रमलाई सहयोग पुर्याउने र पुँजीको अभावमा खुम्चिएका स्थानीय उद्यमीहरूलाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ।
कोषले यो ऋण प्रवाहका लागि सहकारी र वित्तीय संस्थाहरूलाई थोक कर्जा प्रदान गर्नेछ। सहकारीका लागि १ करोड र बैंक तथा वित्तीय संस्थाका लागि ५ करोड रुपैयाँसम्मको थोक कर्जाको सीमा तोकिएको छ। यस्ता संस्थाले कोषबाट रकम प्राप्त गरेको दुई हप्ताभित्र स्वीकृत ऋणीहरूलाई ऋण लगानी गरिसक्नुपर्ने प्रावधान छ। यस पहलले काठमाडौंमा स्वरोजगार बन्न चाहने युवाहरूका लागि सस्तो ब्याजमा पुँजी प्राप्त गर्ने ढोका खोलेको छ।
