आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

पहिलोपटक मनाइँदै ‘अन्तर्राष्ट्रिय भूकम्पपीडित स्मृति दिवस’

परदेशी खबर २०८३ बैशाख १६, बुधबार मा प्रकाशित ( २ महिना अघि) ९५ पाठक संख्या

काठमाडौं— आज वैशाख १६, २०८३ (अप्रिल २९, २०२६) का दिन विश्वभर पहिलोपटक ‘अन्तर्राष्ट्रिय भूकम्पपीडित स्मृति दिवस’ विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२५ अप्रिलमा गरेको निर्णयअनुसार हरेक वर्षको २९ अप्रिललाई यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो। राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरू, सम्बद्ध निकाय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई यस दिवसको अवसरमा ऐक्यबद्धता जनाउँदै सहकार्य गर्न आह्वानसमेत गरेको छ।

बिज्ञापन (Sponsored)

प्राकृतिक विपत्तिहरूमध्ये भूकम्पलाई सबैभन्दा घातक र विनाशकारी मानिन्छ। पछिल्लो समय म्यान्मा र अफगानिस्तानमा गएका शक्तिशाली भूकम्पहरूले ठूलो मात्रामा भौतिक पूर्वाधार ध्वस्त पारेको मात्र नभई समुदायलाई नै विस्थापित तुल्याएको छ। यस्ता विपत्तिले सम्बन्धित मुलुकको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षमा दीर्घकालीन र गहिरो असर पुर्‍याउँदै आएका छन्।

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार सन् १९०० यता विश्वमा कम्तीमा १२ वटा यस्ता ठूला भूकम्प गएका छन्, जसले प्रतिभूकम्प ५० हजारभन्दा बढी मानिसको ज्यान लिएको छ। विश्वव्यापी रूपमा हुने कुल विपद्जन्य क्षतिमध्ये एक चौथाइभन्दा बढी हिस्सा भूकम्पकै कारण हुने गरेको छ। विगतका केही दशकहरूमा मात्रै भूकम्पका कारण विश्व अर्थतन्त्रले खर्बौंडलर बराबरको नोक्सानी व्यहोर्नुपरेको छ।

भूकम्पले प्रत्यक्ष विनाश मात्र निम्त्याउँदैन, यसले आगलागी, सुनामी र पहिरो जस्ता थप गम्भीर जोखिमहरू समेत सिर्जना गर्ने गर्दछ। यसबाट मानिसको आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा अकल्पनीय क्षति पुग्ने भएकाले यसप्रति सचेतना फैलाउन र पीडितहरूको स्मरणमा यो दिवसको विशेष महत्त्व रहेको छ।