काठमान्डौ। ललितपुरको बालकुमारीमा दुई अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक ग्यास इन्सुलेटेड सबस्टेशन (जीआइएस) निर्माण प्रक्रिया अगाडि बढेको छ। लामो समयदेखि जग्गा प्राप्तिको विवादका कारण रोकिएको यो आयोजना मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै कार्यान्वयनको चरणमा पुगेको हो। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को स्वामित्वमा रहेको झण्डै चार रोपनी जग्गा नेपाल विद्युत् प्राधिकरणलाई उपयोग गर्न स्वीकृति दिएपछि चार वर्षदेखिको गतिरोध अन्त्य भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष पहलमा अघि बढाइएको यो आयोजना एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण हुन लागेको हो। यो सबस्टेशनले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई थप सुदृढ, भरपर्दो र दिगो बनाउने लक्ष्य राखेको छ। योजना अनुसार भक्तपुरको ठिमीबाट आउने भूमिगत प्रसारण लाइनलाई बालकुमारी सबस्टेशनमा जोडिनेछ र त्यसपछि यसलाई टेकु सबस्टेशनसँग आबद्ध गरिने प्राधिकरणको तयारी छ।
जग्गा प्राप्तिका लागि प्राधिकरण र केयुकेएलबीच विशेष सहमति समेत भएको छ। सहमति अनुसार बालकुमारीमा स्थापना हुने ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् प्राधिकरणले निःशुल्क उपलब्ध गराउनेछ भने त्यसबापत प्राधिकरणले २५ वर्षसम्मका लागि तीन रोपनी १३ आना दुई पैसा जग्गा उपभोग गर्न पाउनेछ। यो सबस्टेशन निर्माण सम्पन्न भएपछि ललितपुर र आसपासका क्षेत्रमा आगामी पाँच वर्षसम्म बढ्ने विद्युत्को मागलाई सहजै सम्बोधन गर्न सकिने विश्वास लिइएको छ। जग्गाको प्रक्रिया टुङ्गिएसँगै प्राधिकरणले अब छिट्टै निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गर्ने तयारी गरेको छ।
