काठमाडौ -पाकिस्तानले इरानका लागि आफ्ना दुई प्रमुख बन्दरगाह, ग्वादर र कराची, खुला गर्ने महत्वपूर्ण निर्णय गरेको छ। पाकिस्तानको वाणिज्य मन्त्रालयले ‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान आदेश २०२६’ जारी गर्दै इरानी उत्पादनको अन्तर्राष्ट्रिय व्यापारका लागि ६ वटा विशेष करिडोर सञ्चालनमा ल्याएको हो। यो निर्णयसँगै इरानले अब पाकिस्तानको भूमि प्रयोग गर्दै तेस्रो देशसँग आयात–निर्यात गर्न सक्नेछ।
विशेषगरी स्ट्रेट अफ होर्मुजमा जारी तनाव र अमेरिकी नाकाबन्दीका कारण इरानको वैदेशिक व्यापार प्रभावित भइरहेका बेला पाकिस्तानले यो कदम चालेको हो। आफ्नै बन्दरगाह भए तापनि वर्तमान भू-राजनीतिक अवस्थाले इरानलाई व्यवहारतः भूपरिवेष्ठित राष्ट्रको जस्तै स्थितिमा पुर्याएको छ। यस्तो अवस्थामा पाकिस्तानले उपलब्ध गराएको ट्रान्जिट सुविधाले इरानको व्यापारिक गतिरोध अन्त्य गर्न सहयोग पुग्ने देखिन्छ। यसअघि अफगानिस्तानले मात्र दशकौँदेखि पाकिस्तानका बन्दरगाह प्रयोग गर्दै आएकोमा अब इरान पनि यो सूचीमा थपिएको छ।
पाकिस्तानको वाणिज्य मन्त्रालयका अनुसार यस निर्णयले पाकिस्तानलाई क्षेत्रीय व्यापारिक करिडोर र लजिस्टिक्स हबको रूपमा स्थापित गर्न मद्दत पुर्याउनेछ। वाणिज्य मन्त्री जाम कमालले यो कदमले पाकिस्तानको रणनीतिक महत्व बढ्ने र भन्सार कानुनअन्तर्गत सामानको आवागमनलाई थप पारदर्शी र व्यवस्थित बनाइने उल्लेख गर्नुभएको छ। यसका लागि ग्वादर, कराची, तफ्तान र गब्दलगायतका क्षेत्रलाई प्रमुख मार्गका रूपमा तोकिएको छ। यी करिडोरहरूले समुद्री मार्ग र स्थल मार्गलाई जोड्दै सामान ढुवानीलाई सहज बनाउनेछन्।
आर्थिक विश्लेषकहरूका अनुसार यो निर्णय पाकिस्तानले अमेरिकासँगको समन्वयमा नै गरेको हुनुपर्ने देखिन्छ। प्रत्यक्ष व्यापार गर्दा अमेरिकी प्रतिबन्धको जोखिम हुने भए पनि केवल ‘ट्रान्जिट’ सुविधा दिँदा पाकिस्तानलाई आर्थिक लाभ हुने र क्षेत्रीय सम्बन्ध पनि सुधारिने विश्लेषक डा. आबिद सुलेहरीको धारणा छ। यस प्रक्रियाबाट पाकिस्तानले ट्रान्जिट शुल्क प्राप्त गर्नेछ भने अफगानिस्तानसँगको सीमा तनावका कारण अवरुद्ध भएको मध्य एसियासँगको व्यापार अब इरान हुँदै विस्तार गर्ने नयाँ बाटो समेत खुलेको छ। हालै मात्र इरान हुँदै उज्बेकिस्तानको ताशकन्दमा पहिलो कन्साइनमेन्ट पठाइसकिएको छ, जसले यो मार्गको सफल कार्यान्वयनको सङ्केत गरेको छ।
