आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

भारी वर्षा र बाढीपहिरोको जोखिम: रातिको समयमा यात्रा नगर्न मौसमविद्‍को सुझाव

परदेशी खबर २०८३ बैशाख १५, मंगलबार मा प्रकाशित ( ३ महिना अघि) ९५ पाठक संख्या

काठमाडौ -जल तथा मौसम विज्ञान विभाग र मौसमविद्‍हरूले वैशाख १५ र १६ गते मुलुकका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। भारतको उत्तराञ्चल र हिमाञ्चल प्रदेशतिर रहेका दुई फरक मौसमी प्रणालीहरू नेपालमा प्रवेश गरी एकापसमा मिसिएकाले र स्थानीय वायुको प्रभाव समेत थपिँदा मौसम थप सक्रिय भएको हो।

बिज्ञापन (Sponsored)

यस प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको उच्च सम्भावना छ। विशेषगरी वैशाख १५ गतेको तुलनामा १६ गते बुधबार वर्षाको मात्रा र क्षेत्र अझै विस्तार हुने मौसमविद्‍हरूको पूर्वानुमान छ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा समेत बेलुकी र रातिको समयमा ठूलो पानी पर्ने देखिएकाले साना खोलाखोल्सीहरूमा आकस्मिक बाढी आउन सक्ने र पहाडी भूभागमा पहिरो जान सक्ने जोखिम बढेको छ।

मौसमविद्‍ उज्वल उपाध्यायले त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्ग जस्ता जोखिमयुक्त सडकखण्डमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा यात्रा नगर्न सुझाव दिनुभएको छ। मेचीदेखि कर्णालीको बीचमा कतिपय स्थानमा एक–दुई घण्टासम्म अत्यन्तै भारी वर्षा हुन सक्ने र निकास नभएका ठाउँमा डुबानको समस्या समेत देखिन सक्ने भएकाले सर्वसाधारणलाई सचेत रहन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागले सातै प्रदेशका जिल्लाहरूलाई ‘पहेँलो’ संकेत (यलो अलर्ट) जारी गर्दै मौसमको अद्यावधिक जानकारी लिएर मात्र आफ्नो दैनिक काम वा यात्रा तय गर्न अनुरोध गरेको छ। हिमाली भेगमा समेत मध्यम खालको हिउँ र वर्षा हुने भएकाले पदयात्रा र उच्च पहाडी क्षेत्रमा बसोबास गर्नेहरूले विशेष सावधानी अपनाउनु पर्ने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभएको छ। विशेषगरी बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विपद्‍बाट बच्न पूर्वतयारी अपनाउन आवश्यक देखिएको छ।