आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कोरला नाकाबाट विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य गिरावट

परदेशी खबर २०८३ बैशाख १५, मंगलबार मा प्रकाशित ( ३ महिना अघि) १०१ पाठक संख्या

काठमाडौ -उत्तरी मुस्ताङको कोरला नाकाबाट पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा निकै कमी आएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि कोरलाबाट हुने आयात घटेको हो।

बिज्ञापन (Sponsored)

चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यस नाकाबाट वैशाख दोस्रो सातासम्म कुल दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको जाँचपास भएको छ। तथ्याङ्क हेर्दा गत माघ महिनासम्म दुई हजार ३२९ वटा सवारीसाधन भित्रिसकेका थिए भने त्यसपछिको साढे तीन महिनाको अवधिमा केवल १८ वटा मात्र थपिएका छन्। सवारीसाधन र कन्टेनरको सङ्ख्या घट्दा यस अवधिमा करिब १९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार पुसदेखि फागुनसम्म हुने हिमपात र चिनियाँ पर्वहरूका कारण पनि आयात–निर्यातमा केही सुस्तता आएको हो। यद्यपि, विद्युतीय सवारीको आयात घटे पनि अन्य घरायसी सामग्री, विद्युतीय उपकरण, कस्मेटिक र तयारी पोसाक बोकेका कन्टेनरहरू भने नियमित आइरहेका छन्। यस्तै, नेपालबाट हस्तकलाका सामग्री र लत्ताकपडा पनि चीनतर्फ निर्यात भइरहेको छ।

व्यापारीहरूले सडक पूर्वाधारको कठिनाइका कारण कोरला नाकाबाट सवारीसाधन ल्याउन समस्या हुने गरेको गुनासो गरेका छन्। तातोपानी र रसुवागढीको तुलनामा कोरला–जोमसोम–बेनी सडकखण्डमा ठूला कन्टेनर सञ्चालन गर्न गाह्रो हुने र सवारीसाधन गुडाएरै लैजानुपर्ने बाध्यता रहेकाले पनि आयातकर्ताहरूको आकर्षण घटेको पाइएको छ। सन् १९६० को दशकपछि बन्द भएर २०८० कात्तिक २७ गते पुनः सञ्चालनमा आएको यो ऐतिहासिक नाका हाल समुद्री सतहदेखि चार हजार ६५० मिटरको उचाइमा क्रियाशील छ।