आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

मालीमा सशस्त्र समूहको भीषण आक्रमण: रक्षामन्त्री कमाराको मृत्यु, किदाल विद्रोहीको नियन्त्रणमा भएको दाबी

परदेशी खबर २०८३ बैशाख १४, सोमबार मा प्रकाशित ( ३ महिना अघि) १३५ पाठक संख्या

काठमान्डौ। पश्चिमी अफ्रिकी मुलुक मालीमा शनिबार भएका शृंखलाबद्ध र समन्वयात्मक सशस्त्र आक्रमणमा परी प्रभावशाली रक्षामन्त्री सादियो कमाराको मृत्यु भएको छ। राजधानी बामाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कातीस्थित आफ्नै निवासमा भएको आत्मघाती हमलामा गम्भीर घाइते भएका कमाराको उपचारका क्रममा आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको सवारीसाधन उनको निवासमा ठोक्काएर गराएको उक्त विस्फोटमा परी कमाराका परिवारका सदस्यहरू र नजिकैको मस्जिदमा रहेका केही सर्वसाधारणको समेत ज्यान गएको छ। रक्षामन्त्री कमाराले आक्रमणको समयमा प्रतिकार गर्दै आफैंले समेत गोली चलाएको बताइएको छ।

बिज्ञापन (Sponsored)

यो आक्रमण पछिल्लो समयकै सबैभन्दा ठूलो र योजनाबद्ध मानिएको छ, जुन कातीमा मात्र सीमित नभई राजधानी नजिकैको विमानस्थल, मध्य र उत्तरी भागका गाओ, मोप्ती, सेभारे र किदाल लगायतका रणनीतिक क्षेत्रहरूमा एकैसाथ भएको थियो। अलकायदासँग आबद्ध समूह ‘जमात नुसरत अल-इस्लाम वल मुस्लिमिन’ र तुआरेग पृथकतावादी समूह ‘आजावाद लिबरेशन फ्रन्ट’ ले यी आक्रमणहरू गरेका हुन्। विद्रोही समूहले उत्तरी सहर किदाललाई आफ्नो पूर्ण नियन्त्रणमा लिएको दाबी गरे पनि मालीको सेनाले त्यसको औपचारिक पुष्टि गरेको छैन र त्यहाँ अझै भीषण झडप जारी रहेको रिपोर्टहरू आएका छन्।

रक्षामन्त्री कमाराको मृत्युलाई मालीको सैन्य सरकार र विशेषगरी रुससँगको सम्बन्धका लागि ठूलो धक्का मानिएको छ। सन् २०२० र २०२१ को सैन्य कुमार्फत सत्तामा आएका असिमी गोइता नेतृत्वको सरकारमा कमारा मुख्य स्तम्भका रूपमा रहेका थिए। उनकै सक्रियतामा मालीले फ्रान्सेली सेनालाई हटाएर रुसी सैन्य सहयोग विस्तार गरेको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, अफ्रिकी संघ र क्षेत्रीय संगठन इकोवासले यस हिंसात्मक घटनाको कडा निन्दा गरेका छन्। सुरक्षा व्यवस्था सुदृढ गर्ने वाचासहित सत्ता सम्हालेको सैन्य सरकारका लागि यो घटनाले ठूलो चुनौती खडा गरेको छ भने देशमा सुरक्षा संकट अझै गहिरिने देखिएको छ।