आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा सहमति, आजै घोषणा हुने

परदेशी खबर २०८३ बैशाख १४, सोमबार मा प्रकाशित ( ३ महिना अघि) ९४ पाठक संख्या

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आन्तरिक सहमति जुटाएको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको विशेष समितिले विभिन्न चरणको छलफलपछि नेताको नाममा सहमति कायम गरेको हो। समितिले जुटाएको उक्त नाम आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापालाई बुझाइनेछ। सभापति थापाले उक्त नामलाई कार्यसम्पादन समितिमा प्रस्तावका रूपमा पेस गर्ने तयारी गर्नुभएको छ।

बिज्ञापन (Sponsored)

संसदीय दलको नेता चयन गर्ने अन्तिम अधिकार सांसदहरूमा रहने भएकाले दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा उक्त प्रस्तावमाथि छलफल गरिनेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सभापतिले प्रस्ताव गरेको नाममा सांसदहरूबीच सर्वसम्मति भएमा सोही व्यक्ति नेता चयन हुनेछन्, अन्यथा निर्वाचन प्रक्रिया अवलम्बन गरिनेछ। यसअघि संसदीय दलको नेताका आकांक्षी रहेका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सर्वसम्मति भए मात्र स्वीकार गर्ने तर चुनाव नलड्ने अडान राखेपछि सहमति जुट्न सहज भएको बताइएको छ।

सहमति जुटाउन बनेको समितिले आकांक्षीहरू भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र फिरदोष आलमलगायतका नेताहरूसँग सघन छलफल गरेको थियो। हाल कांग्रेसमा ३८ जना सांसद रहेका छन्। संसदीय दलको नेता चयनमा ढिलाइ भएको भन्दै पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला आजको बैठकले यसलाई पूर्णता दिने विश्वास लिइएको छ। सभापतिले नाम प्रस्ताव गरेलगत्तै नयाँ संसदीय दलको नेताको नाम सार्वजनिक हुनेछ।