काठमान्डौ। आगामी १८ वैशाखमा मनाइने २५७०औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लुम्बिनी जाने भएका छन्। लुम्बिनी विकास कोषले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
कोषका अनुसार प्रधानमन्त्री शाहले बुद्धजयन्तीका अवसरमा आयोजना हुने पूजाआजामा सहभागिता जनाउने कार्यक्रम तय भएको छ। यद्यपि, यसपटक प्रधानमन्त्रीले समारोहलाई औपचारिक सम्बोधन भने नगर्ने भएका छन्। विगतका वर्षहरूमा बुद्धजयन्तीका अवसरमा राष्ट्र वा सरकार प्रमुखले विशेष सम्बोधन गर्ने परम्परा रहे पनि यसपटकको कार्यतालिकामा भाषणको कार्यक्रम समावेश नगरिएको कोषले जनाएको छ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार प्रधानमन्त्री शाहको सहभागिता पूजा र धार्मिक गतिविधिमा मात्र केन्द्रित रहनेछ। उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष खड्कराज पौडेल (गनेश) र रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानलगायतको पनि उपस्थिति रहनेछ।
बुद्धजयन्तीको विशेष कार्यक्रम १८ वैशाख बिहान ५ बजे सुरु भई ६ बजेभित्र सम्पन्न गर्ने गरी योजना बनाइएको छ। लुम्बिनी विकास कोषको संरक्षक स्वयं प्रधानमन्त्री रहने कानुनी व्यवस्थाका कारण पनि उनको यो उपस्थिति र सहभागितालाई महत्त्वका साथ हेरिएको छ।
