आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

मध्यपूर्वको असहज परिस्थितिका कारण कुवेतमा तय गरिएको ‘संयुक्त किराती चाड’ स्थगित

परदेशी खबर २०८३ बैशाख १३, आईतबार मा प्रकाशित ( ३ महिना अघि) २४८ पाठक संख्या

कुवेत / कुवेतमा क्रियाशील तीन किराती संस्थाहरूको संयुक्त आयोजनामा आगामी मे ८ तारिखमा मनाउने भनिएको महान चाड तथा सांस्कृतिक कार्यक्रम हालका लागि स्थगित गरिएको छ। मध्यपूर्वमा विकसित पछिल्लो असहज राजनीतिक वातावरण र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आयोजकले यस्तो निर्णय लिएको हो।

बिज्ञापन (Sponsored)

किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज शाखा कुवेतको संयुक्त आयोजनामा लिम्बु जातिको ‘यक्वा तङ्नाम’, राई जातिको ‘साकेला उभौली’ र सुनुवार जातिको ‘सालिवा श्याँदर पिदार’ (२०८३ यले संवत) मनाउने तयारी गरिएको थियो। करिब तीन महिना अगाडि नै तय गरिएको यो कार्यक्रम क्षेत्रमा देखिएको अनिश्चितता र शान्तिपूर्ण वातावरणको अभावका कारण रोक्नु परेको आयोजकले जनाएका छन्।

गत अप्रिल २४ तारिख शुक्रबारका दिन बसेको संयुक्त तीन किराती संस्थाहरूको मासिक बैठकले उक्त कार्यक्रम स्थगित गर्ने आधिकारिक निर्णय गरेको हो। परिस्थिति सहज र अनुकूल भएमा आगामी दिनमा ‘उधौली’ कार्यक्रम भव्य रूपमा आयोजना गरिने प्रतिबद्धता समेत बैठकले व्यक्त गरेको छ।

अचानक कार्यक्रम स्थगित गर्नुपरेकोमा आयोजक संस्थाका तर्फबाट किरात राई यायोक्खा कुवेतका अध्यक्ष मोहन नाछिरिङ राईले कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा परेको असुविधाप्रति क्षमा याचना गर्नुभएको छ। आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेका यी संस्थाहरूले सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिँदै यो कठिन निर्णय लिएको बताएका छन्।