आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युद्धविराम लम्बिँदा पनि इरान–अमेरिका तनाव यथावत्

परदेशी खबर २०८३ बैशाख ९, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ९८ पाठक संख्या

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको म्याद अनिश्चितकालका लागि थपे पनि दुई देशबीचको तनाव कम हुन सकेको छैन। इरानलाई वार्ताका लागि ठोस प्रस्ताव तयार पार्न समय दिने उद्देश्यले यो निर्णय गरिएको ट्रम्पले बताएका छन्। यद्यपि, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी भने कायमै राखिएको छ। ह्वाइट हाउसले पाकिस्तानको मध्यस्थतामा भइरहेको कूटनीतिक पहललाई अवसर दिन खोजे पनि मैदानमा सैन्य दबाब र अनिश्चितता कायमै छ।

बिज्ञापन (Sponsored)

ट्रम्पले होर्मुज जल डमरूमध्यमा इरानको प्रभाव रोक्नु रणनीतिक आवश्यकता भएको उल्लेख गर्दै नाकाबन्दी नहटाइने स्पष्ट पारेका छन्। यता, पाकिस्तानको इस्लामाबादमा तय भएको शान्ति वार्ता र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भ्रमण स्थगित भएपछि कूटनीतिक प्रयासमा जटिलता देखिएको छ। पाकिस्तानी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवले युद्धविराम विस्तारको स्वागत गरे पनि इरानले भने आफ्नो भूभागमा आक्रमण भए खाडी क्षेत्रका तेल पूर्वाधारमा प्रहार गर्ने चेतावनी दिएको छ।

यसैबीच, अमेरिकी प्रतिबन्धका कारण इरानको समुद्री व्यापार र तेल राजस्वमा गम्भीर असर पर्न थालेको छ। तेहरानका सर्वसाधारणले युद्धविराम भए पनि जीवन झन् कठिन बन्दै गएको गुनासो गरेका छन्। मध्यपूर्वको अर्को मोर्चामा इजरायल र लेबनानबीच नयाँ वार्ताको तयारी भइरहँदा दक्षिणी लेबनानमा छिटपुट हिंसा र रकेट प्रहार जारी छ, जसले समग्र क्षेत्रीय शान्ति प्रक्रियालाई अझै चुनौतीपूर्ण बनाएको छ।