काठमान्डौ। नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद सहमतितर्फ उन्मुख भएको छ। आइतबार साँझ महामन्त्री गगन थापा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच गोल्फुटारस्थित खड्का निवासमा भएको संवादपछि विवाद टुङ्ग्याउने समझदारी बनेको हो। उक्त छलफलमा खड्कालाई अनुशासन समितिले सोधेको स्पष्टीकरण फिर्ता लिने सहमति भएको छ।
अदालतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिइसकेको पृष्ठभूमिमा खड्कामाथि सोधिएको स्पष्टीकरणको सान्दर्भिकता समाप्त भएको निष्कर्ष दुवै पक्षले निकालेका छन्। खड्काले कार्यवाहक सभापतिका रूपमा जारी गरेका वक्तव्यका विषयमा अनुशासन समितिले वैशाख २ गते एक हप्ताको समय दिएर स्पष्टीकरण माग गरेको थियो। सोही विषयलाई औपचारिक रूपमा टुङ्ग्याउन अनुशासन समितिको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। यस सहमतिलाई कांग्रेसभित्रको बढ्दो टकराव मत्थर भई पार्टी एकता सुदृढ हुने सङ्केतका रूपमा हेरिएको छ।
