नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी सङ्गठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयलाई ‘चरम अलोकतान्त्रिक’ कदमको संज्ञा दिनुभएको छ। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने र विश्वविद्यालयभित्र सुरक्षा युनिट स्थापना गर्ने तयारीप्रति कडा आपत्ति जनाउनुभएको हो।
नेता ज्ञवालीले यस कदमलाई प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेप भन्दै पञ्चायती निरंकुशतामा समेत सरकारले गर्न नसकेको धृष्टतापूर्ण निर्णयमा उपकुलपतिहरूले हस्ताक्षर गरेकोमा प्रश्न उठाउनुभएको छ। विद्यार्थी आन्दोलनभित्र कतिपय कमजोरी रहेको स्वीकार गर्दै उहाँले ती समस्यालाई निषेध गरेर नभई संवाद, सहकार्य र रूपान्तरणमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। विद्यार्थी सङ्गठनको अस्तित्व नै मेटाउन खोजिएको प्रति व्यङ्ग्य गर्दै ज्ञवालीले लेख्नुभएको छ, “के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनुहुन्छ?”
