पोखरा / पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा पर्यटकहरूलाई अनावश्यक दुःख दिने र अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १६ जना महिलालाई नियन्त्रणमा लिएको छ। शनिबार मध्यरात १२ बजेदेखि २ बजेको बीचमा वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार, लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई हैरानी दिने, लुटपाट गर्ने र अनैतिक कार्यका लागि दबाब दिने गरेको जनगुनासो बढेपछि विशेष अपरेसन चलाइएको थियो। पक्राउ पर्नेहरू १७ देखि २३ वर्ष उमेर समूहका रहेका छन्। प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ भने उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।
