आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

मुस्ताङमा वन्यजन्तु पीडित कृषकलाई राहत वितरण: झन्झटिलो प्रक्रिया हटेपछि कृषक उत्साहित

परदेशी खबर २०८३ बैशाख ६, आईतबार मा प्रकाशित ( ३ महिना अघि) १४४ पाठक संख्या

काठमान्डौ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २७ घरधुरी कृषकलाई वन्यजन्तुबाट भएको क्षतिबापत १५ लाख ६९ हजार रुपियाँ राहत वितरण गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैतसम्म हिमचितुवा र ब्वाँसोको आक्रमणबाट पशुचौपाया गुमाएका कृषकहरूलाई शनिबार सो रकम प्रदान गरेको हो।

बिज्ञापन (Sponsored)

यसपटक राहत वितरण प्रक्रियामा तदारुकता देखाइएको छ। गत चैत २५ गते मात्रै २८ वटा भेडाच्याङ्ग्रा गुमाएका लोमान्थाङ–४ न्याम्दोका कृषक काजाङ ग्याचो गुरुङले १ लाख ७९ हजार रुपियाँ राहत पाएका छन्। विगतमा राहतका लागि वर्षौँ कुर्नुपर्ने बाध्यता रहे पनि यसपटक क्षति भएको छोटो समयमै रकम पाएपछि कृषकहरूले खुसी व्यक्त गरेका छन्।

नेपाल सरकारको वन्यजन्तु क्षति राहत वितरण निर्देशिकाअनुसार भेडाच्याङ्ग्रामा प्रतिपशु अधिकतम १० हजार र घोडाको हकमा ६० हजार रुपियाँसम्म राहत दिने व्यवस्था छ। चालु आर्थिक वर्षमा १४ घोडा, ३० च्याङ्ग्रा, १० भेडा र ८ याक गरी कुल ६२ वटा पशुचौपाया वन्यजन्तुको सिकार भएका थिए। पछिल्ला तीन वर्षमा मात्रै यस क्षेत्रमा कुल ४५ लाख ९९ हजार रुपियाँ राहत वितरण भइसकेको छ।

एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार राहत वितरणसँगै मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गोठ सुधार र वन्यजन्तुको प्राकृतिक आहार प्रजाति संरक्षणका कार्यक्रमहरू पनि समुदायसँग मिलेर अघि बढाइएको छ। उपल्लो मुस्ताङमा विशेषगरी हिमचितुवा र ब्वाँसोबाट पशुचौपायामा बढी क्षति हुने गरेको छ। समयमै राहत उपलब्ध गराउँदा कृषकहरूलाई पुनः पशुपालनमै लाग्न र वन्यजन्तु संरक्षणप्रति सकारात्मक बन्न सहयोग पुगेको देखिन्छ।