काठमाडौँ । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेको छ। केही समयका लागि मात्र खुलेको यो प्रमुख जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पुनः चासो र चिन्ता बढेको छ।
इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताउनुभयो। उहाँका अनुसार अन्तिम शान्ति सम्झौता तत्काल सम्भव देखिँदैन र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन। इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्षहरू बाँकी रहेको र दुई साताका लागि गरिएको युद्धविराम बुधबार समाप्त हुने तयारीमा रहेकाले आगामी अवस्था थप अन्योलपूर्ण बनेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘राम्रो वार्ता’ भइरहेको दाबी गर्दै तेहरानलाई दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिनुभएको छ। उहाँले इरानले होर्मुजमार्फत अन्तर्राष्ट्रिय समुदायलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप समेत लगाउनुभयो।
शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि यो जलमार्ग खुला गरेको थियो। विश्वको करिब पाँचौँ भाग तेल र तरलीकृत प्राकृतिक ग्यास (LNG) ओसारपसार हुने यस मार्गबाट व्यापार सुचारु हुँदा तेलको मूल्य घटेको थियो। तर, अमेरिकाले नाकाबन्दी कायम राख्ने अडान लिएपछि इरानले पुनः जलमार्ग सीमित गर्ने सङ्केत दिएको हो।
इरानका सर्वोच्च नेता मोजताबा खमेनीले इरानी नौसेना अमेरिकाविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको सन्देश दिनुभएको छ भने रिभोलुसनरी गार्ड्सले अनुमति बिना जल डमरूमध्य पार गर्ने जहाजहरूलाई ‘लक्षित’ गरिने चेतावनी दिएको छ। ट्र्याकिङ तथ्याङ्कका अनुसार शनिबार दिउँसोसम्म यो जलमार्ग प्रायः सुनसान देखिएको छ।
समुद्री सुरक्षासम्बन्धी एजेन्सीहरूका अनुसार केही ट्याङ्करहरूमाथि गोली प्रहार र आक्रमणका घटनाहरू समेत भएका छन्। भारतले आफ्ना झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीकाण्डप्रति कडा आपत्ति जनाउँदै इरानी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ।
कूटनीतिक रूपमा इजिप्ट र पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेका भए पनि इरानको समृद्ध युरेनियमको भण्डार र होर्मुज जल डमरूमध्यको नियन्त्रण मुख्य बाधक बनेका छन्। राष्ट्रपति ट्रम्पले इरानले ४४० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गरे पनि इरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
फेब्रुअरी २८ मा सुरु भएको यो मध्यपूर्वीय द्वन्द्वले इरान, इजरायल, लेबनान र खाडी देशहरूलाई समेट्दै व्यापक रूप लिएको छ। लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्तिरक्षकमाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएपछि क्षेत्रीय तनाव थप जटिल बनेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उक्त घटनाको निन्दा गर्दै शान्ति प्रयासमा चुनौती थपिएको बताउनुभएको छ। (रासस/एएफपी)
