आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

यस वर्ष वन डढेलोको घटनामा उल्लेख्य गिरावट: लुम्बिनीमा सुधार, सुदूरपश्चिममा बढी जोखिम

परदेशी खबर २०८३ बैशाख ५, शनिबार मा प्रकाशित ( ३ महिना अघि) १२४ पाठक संख्या

हरेक वर्षको चैत महिनामा वन डढेलोको उच्च जोखिम हुने गरे पनि यस वर्ष भने डढेलोका घटनामा निकै कमी आएको छ। मनसुनपूर्व नै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटनामा ठूलो गिरावट आएको हो।

बिज्ञापन (Sponsored)

वन तथा भू–संरक्षण विभागको तथ्यांकअनुसार २०८२ चैतमा हालसम्मकै थोरै ७९ वटा मात्रै डढेलोका घटना दर्ता भएका छन्। जबकी २०८१ चैतमा ३३१ र २०७८ चैतमा ४६६ वटा डढेलोका घटना भएका थिए। समग्र वार्षिक तथ्यांक हेर्दा २०८१ मा ३ हजार ४७ वटा घटना भएकामा २०८२ मा यो संख्या घटेर ४२४ मा झरेको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माका अनुसार यस वर्ष मनसुन अघि नै वर्षा भएकाले डढेलोको ठूलो समस्या भोग्नु परेन। यद्यपि, सरकारले डढेलो नियन्त्रणका लागि ड्रोन खरिद र आवश्यक बजेट व्यवस्थापनबारे छलफल गरिरहेको उनले बताए।

महिनागत रूपमा वैशाख सबैभन्दा जोखिमपूर्ण देखिएको छ। विगतका वर्षहरूमा वैशाखमा मात्रै कुल घटनाको ५७.७ प्रतिशत डढेलो हुने गरेकोमा २०८२ वैशाखमा भने यो संख्या घटेर १७३ मा सीमित भएको छ।

प्रदेशगत अवस्था र क्षति
प्रदेशगत रूपमा यस वर्ष सबैभन्दा बढी डढेलो सुदूरपश्चिम प्रदेशमा (१३१ वटा) र सबैभन्दा कम कोशी प्रदेशमा (३१ वटा) रेकर्ड गरिएको छ। लुम्बिनी प्रदेशमा विगतका वर्षहरूमा डढेलोको चर्को समस्या देखिए पनि २०८२ मा भने संख्या घटेर ४४ मा झरेको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा वन डढेलोका कारण देशभर करिब ९१ करोड ७९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

किन घट्यो डढेलो?
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डिविड ढकालका अनुसार यस वर्ष प्रि–मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भएको छ। सामान्यतया ३० प्रतिशत वर्षा हुने यो अवधिमा यसपालि ४४.३ प्रतिशत (१०१.४ मिलिमिटर) वर्षा भइसकेकाले सुक्खापन कम भएको हो।

मानवीय लापरवाही मुख्य कारण
‘वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ अनुसार ९६ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको छ। जसमा चरिचरनका लागि जानीजानी आगो लगाउने (३० प्रतिशत), चुरोटको ठुटा (१५ प्रतिशत), सिकारी (७ प्रतिशत) र वनभोज जस्ता गतिविधि मुख्य छन्। समग्रमा ६४ प्रतिशत घटना जानीजानी र ३२ प्रतिशत लापरवाहीका कारण हुने गरेको देखिन्छ। विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले जलवायु परिवर्तन, बढ्दो तापक्रम र मानवीय गतिविधिका कारण डढेलोको चुनौती अझै कायमै रहेको बताएका छन्।

रासस