काठमाडौँ / नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सम्बन्धी रिट खारेज गरेपछि निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका छन्। गोल्फुटारस्थित खड्काको निवासमा शनिबार बिहानदेखि भइरहेको छलफलमा नेताहरू इन्द्रबहादुर बानियाँ, केदार कार्की लगायतको सहभागिता रहेको छ।
सर्वोच्चको फैसलापछिको विकसित परिस्थिति र आगामी राजनीतिक कदमबारे रणनीति बनाउन खड्काले आफ्ना निकटवर्तीहरूसँग सघन संवाद अगाडि बढाएका हुन्। छलफलमा सहभागी एक नेताका अनुसार अदालतको आदेशको कानुनी र राजनीतिक प्रभावबारे गम्भीर समीक्षा भइरहेको छ।
परामर्शपछि खड्काले आगामी राजनीतिक यात्रा र आफ्नो अडानबारे आइतबारसम्म औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। यसका साथै, उनले पार्टीका अन्य शीर्ष नेताहरूसँग पनि अनौपचारिक संवाद गरी साझा धारणा बनाउने योजना बनाएको स्रोतले जनाएको छ।
