काठमाडौं, – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्।
यस ऐतिहासिक यात्राका लागि सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अनितालाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।
अनिता मंगलबार काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्नेछिन्। लुक्लाबाट करिब एक साताको पैदल यात्रापछि उनी सगरमाथा आधार शिविर (बेसक्याम्प) पुग्ने तालिका रहेको छ। आधार शिविर पुगेपछि आफ्नो स्वास्थ्य स्थिति र मौसमको अनुकूलतालाई मध्यनजर गर्दै आरोहणको अन्तिम मिति तय गरिने अनिताले जानकारी दिइन्।
आरोहणका क्रममा उनले नेपाल ओलम्पियन संघ, खेलाडी संघ र नेपाल फेन्सिङ संघको झण्डा सगरमाथाको शिखरमा फहराउने लक्ष्य राखेकी छन्। फेन्सिङ खेलमा स्थापित अनिताले यसअघि ६ हजार ३८ मिटर उचाइको छुलु फारइस्ट हिमालको सफल आरोहण गरिसकेकी छन्। खेलकुद क्षेत्रमा रजत पदक जितेर राष्ट्रको शिर उच्च पारेकी उनी अब सर्वोच्च शिखरमा पाइला टेक्न साहसका साथ अघि बढेकी हुन्।
