आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन नाछिरिङ राई निर्विरोध निर्वाचित

परदेशी खबर २०८२ फागुन १, शुक्रबार मा प्रकाशित ( ५ महिना अघि) ३०४ पाठक संख्या

कुवेत । ‘किरात संस्कार, संस्कृतिको संरक्षण, किरात राईहरूको साझा अभियान’ भन्ने मूल नाराका साथ किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। २०२६ फेब्रुअरी १३ (तदानुसार २०८२ फागुन १ गते) शुक्रबारका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजित उक्त अधिवेशनबाट मोहन नाछिरिङ राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

बिज्ञापन (Sponsored)

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव शिव बानियाको प्रमुख आतिथ्यता तथा नेपालबाट विशेष अतिथिका रूपमा आउनुभएका किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष जीवन अताचो राईको उपस्थितिमा कार्यक्रमको समुद्घाटन गरिएको थियो। प्रमुख अतिथि तथा विशेष अतिथिहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको उक्त समारोहमा एनआरएनए कुवेतका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका भातृ संगठन, जातीय तथा क्षेत्रीय संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

राष्ट्रिय गान र स्वागत गीतबाट प्रारम्भ भएको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य र विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत समावेश गरिएका थिए। अधिवेशनले आगामी कार्यकालका लागि मोहन नाछिरिङ राईलाई अध्यक्ष, मोहन राईलाई वरिष्ठ उपाध्यक्ष र प्रकाश थुलुङलाई महासचिव पदमा सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका अतिथिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै खादा र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए। नवनियुक्त कार्यसमितिले प्रवासमा रहेका नेपालीहरूबीचको एकता र किरात संस्कृतिको संरक्षणमा थप प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएको छ।