आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

विदेशको चिल्ला सपनाभन्दा यथार्थ फरक रहेछ

परदेशी खबर २०८२ आश्विन १३, सोमबार मा प्रकाशित ( १0 महिना अघि) २७९ पाठक संख्या

आकाश शेर्पा

बिज्ञापन (Sponsored)

विदेश विदेश जस्तै कहाँ हुन्छ र? । ठूला–ठूला महल, चिल्ला सडक, त्यसै सडकमा गुडेका महँगा गाडी, वरिपरि रंगीचंगी बगैँचा अनि सफा–सुग्घर शहर यस्तै दृश्यहरु देख्दा कोही पनि विदेश जाने सपना देख्ने गर्छ। नेपालमा धुलो–मैलो, असुविधा, बेरोजगारी र दैनिकीको संघर्षले थिचिएको मानिसलाई त यस्तो जीवन नै स्वर्गसरह लाग्छ। हामी जस्तै गाउँघरमा हुर्केका मानिसले त त्यहाँ पुग्ने कल्पना मात्र गरेर पनि आनन्द लिन्छौं। यिनै कल्पनाले गर्दा हामीले साहुबाट ऋण लिन्छौं, जग्गा बन्धक राख्छौं, आफ्ना आमा–बुबाको आशा काँधमा बोकेर अनि सानाठूला भाइबहिनीलाई पढाउने लक्ष्य बोकेर परदेश पस्ने निर्णय गर्छौं।

तर यथार्थ त्यस्तो हुँदैन रहेछ। अझ विशेषगरी बिना सीप विदेशिनेहरूका लागि त यहाँको जीवन कल्पनाभन्दा धेरै कठिन हुन्छ। म स्वयं पनि यही यात्राको एउटा उदाहरण हुँ। गाउँमा हुँदा जनआन्दोलनपछि शान्ति पुनःस्थापनाको हल्ला चलिरहेको थियो। गाउँ फर्केका परदेशीहरूले जस्ताको छानो लगाएर घर बनाउँदा, नयाँ गाडी ल्याउँदा, गाउँमा नै हिरो बनेर हिँड्दा मलाई पनि विदेश जाने रहर जाग्यो। केही वर्ष पसिना बगाएर फर्केर गाउँमा बस्ने, आफ्ना आमाबुबालाई खुशी दिने, भाइबहिनीलाई पढाउने यही सपना बोकेर म पनि एजेन्टमार्फत पासपोर्ट र पैसा बुझाएर खाडी देश हिँडेको थिएँ।

अहिले झन्डै एक दशकभन्दा बढी समय बितिसक्यो, तर म अझै पनि परदेशमै अल्झिएको छु। सुरुका दिनमा गाउँमा विदेशिएका मान्छे दुई–चार वर्षमै फर्किन्थे, कमाएको पैसाले सानो भए पनि घर बनाउँथे, जग्गा किन्दथे। गाउँमा उनीहरूको सान नै बेग्लै हुन्थ्यो। तर मेरो हकमा त्यो सम्भव भएन। म बिना सीप विदेशिएँ, जसले गर्दा काम त पाएँ तर कमाइ सीमित भयो। दिनभर धुप तापमा पसिना बगाएँ, रातभर थकाइले चुर भएर सुतेँ, तर घर फर्केर देखाउन लायक ठूलो उपलब्धि भने गर्न सकिनँ।

यसबीचमा समय निकै फेरियो। म सानैमा छाडेर आएको भाइहरू ठूला भए। उनीहरूले पढाइ सकेर काम गर्न थाले। गाउँमा सडक पुग्यो, बिजुली आयो, गाबिस नगरपालिका बन्यो। तर त्यहाँ म सधैं विदेशी भूमिमा घाम पानीसँग संघर्ष गर्दै आफ्नो जीवन धकेलिरहेँ। गाउंको बारी बाँझिँदै गयो, खेतमा काम गर्ने मान्छे घट्दै गयो, गाउँका धेरै युवा शहर पस्न थाले वा विदेशिन थाले। मैले भने अझै आफ्ना अधुरा सपना पूरा गर्न सकेको थिइनँ।

विदेशमा बस्दै जाँदा एउटा कुरा प्रष्ट बुझें सपना बोकेर मात्र विदेश आउनु पर्याप्त हुँदैन रहेछ। सीपविहीन सपनाले मान्छेलाई लामो समयसम्म अल्झाइराख्दो रहेछ । मेरो गल्ती पनि त्यही भयो। जब गाउँमा बाटोमा परदेशी फर्किएका मानिसहरूको रवाफ देख्थेँ, मलाई पनि सजिलो हुन्छ भन्ने लागेको थियो। तर यहाँ आइपुगेपछि थाहा भयो—यहाँको काम सजिलो छैन, जीवन अझ कठिन छ। सीप भएका मानिसले भने सचिलो कमाउँछन्, राम्रो कम्पनीमा काम पाउँछन्, देश फर्केर पनि ठूला काम गर्छन्। तर हामी जस्ता सीपविहीनहरूले भने पसिना बगाए पनि फल सानो मात्र हुन्छ।

अहिले पछिल्लो समय अझै प्रष्ट बुझ्न थालेको छु विदेश जाने हो भने पहिले सीप सिकेर मात्र जानुपर्छ। भाषा सिक्नुपर्छ, सीप सिक्नुपर्छ, अनि योजना बनाएर जानुपर्छ। नभए त हामीजस्ता हजारौं नेपाली परदेशमा बरालिन्छौं, ऋण तिर्ने नाममा वर्षौं बिताउँछौं, तर जे सोचेर आएका थियौं त्यो पूरा गर्न सक्दैनौं। गाउँघरमा अझै पनि धेरै युवाले विदेश नै समाधान हो भन्ने सोच राखेका छन्। तर मैले देखेको यथार्थ त्यस्तो छैन। समाधान विदेश होइन, समाधान सीप हो।

त्यसैले मेरो भाइ, तिमीलाई म यति भन्न चाहन्छु विदेश जान्छु भन्ने विचार पलायो भने पहिले सोच, “के मसँग सीप छ?” यदि छैन भने नेपालमै बसेर केही महिना वा वर्ष सीप सिक, त्यसपछि मात्र परदेश जाऊ। नेपालीहरूलाई धेरै ठाउँमा काम गर्ने अवसर हुन्छ—इलेक्ट्रिसियन, प्लम्बर, मेकानिक, वेल्डर, कुक, ड्राइभर, कम्प्युटर सम्बन्धी सीप, भाषा सीप। यीमध्ये जुन चाहिन्छ त्यही सिकेर मात्र विदेश जाँदा तिमीले कम समयमै राम्रो कमाउन सक्छौं। नभए त हामीजस्तै दिन रात पसिना बगाएर पनि ऋण मात्र तिर्ने जीवनमा फस्छौं।

विदेशमा एक दशकभन्दा बढी बिताइसकेपछि मलाई लाग्छ नेपालमा पनि अवसरहरू छन्। खेतीपाती, पशुपालन, व्यवसाय, पर्यटन, सेवा व्यवसाय यी सबै क्षेत्रमा केही गर्न सकिन्छ। तर हामी सजिलो पैसा पाउने सोचले गर्दा सीप सिक्ने बानी बस्दैन। विदेश गएको साथीलाई घर बनाएको देख्दा हामी पनि सजिलै पैसा आउँछ भन्ने सोच्छौं। तर साँचो कुरा त के हो भने त्यो घर बनाउने साथीले सायद सीप सिकेर गएको थियो, अथवा निकै कष्ट सहेरै पनि लक्ष्य पुरा गरेको थियो।

म अब सोचिरहेको छु—जति समय बाँकी छ, त्यति समयलाई प्रयोग गरेर केही नयाँ सिक्नुपर्छ। जीवन कहिल्यै ढिलो हुँदैन, तर ढिला हुँदा कठिन भने पक्कै हुन्छ। मैले ढिला गरेरै भए पनि बुझें कि सीपविहीन सपना अधुरो मात्र हुन्छ।

त्यसैले, भाइ, तिमीलाई मेरो सुझाव यही हो—सपना देख, तर सपनासँगै योजना पनि बनाऊ। विदेश त अवसर हो, तर त्यस अवसरलाई उपयोग गर्ने तिमीको तयारी कस्तो छ भन्नेमा सबै निर्भर गर्छ। यदि तिमीले तयारी गरेनौं भने, सपना अधुरो हुन्छ। तर तयारी गरेर गयौं भने, विदेशले तिमीलाई जीवनमा सफल बनाउँछ।

विदेशको चमकदमक देखेर मात्र आकर्षित नहुनू। यहाँको धूप ताप, कठिनाइ, पीडा पनि बुझ्नू। अनि सोचेपछि मात्र निर्णय लिनू। नभए त, हामीजस्तै वर्षौं बिताउँदा पनि घर फर्केर भन्न केही हुँदैन।

अन्तमा, मलाई विदेशले धेरै सिकायो। संघर्षको मूल्य बुझायो, समयको महत्त्व बुझायो। तर सबैभन्दा ठूलो पाठ यही सिकायो सपना मात्र होइन, सीप पनि हुनुपर्छ।

ओखलढुंगा :- कुवेत