आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

ओमानमा शाहीन चक्रवात, नेपालीहरुलाई सतर्कता अपनाउन दूतावासको आग्रह

परदेशी खबर १८ आश्विन २०७८, सोमबार १३:३४ मा प्रकाशित ( २ साल अघि) ४८६ पाठक संख्या

परदेशी खबर/ ४ अक्टोबर । अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामकाे ट्रपिकल चक्रवात सुरु भएको छ । चक्रवातको असर मस्कटसम्म पर्ने भएकाले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ ।

ओमानको विपद पूर्व सतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ ।

मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुई/तीन दिनसम्म यसको प्रभाव पर्ने पूर्व सतर्कता केन्द्रले जनाएको छ । यो समयमा समुन्द्रको तहमा वृद्धि हुनसक्ने भएकाले समुन्द्र नजिक नजान र आफ्नै आवासमा सुरक्षित रहन पनि दूतावासले आग्रह गरेको छ ।

यस प्रतिकुल मौसमका कारण ओमान सरकाले आज आइतबार र साेमबार त्यहाँका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गरेको छ । दूतावासले पनि आफ्नो नियमित सेवा प्रवाह बन्द गरिने जनाएको छ । मौसमको नियमित अपडेट हेरिरहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न दूतावासले आग्रह गरेको छ ।