भदौ ९, काठमाडौ । कोरोना लकडाउन र प्रतिबन्धका बीच थुप्रै महिनापछि सिनेमाघर मालिकले त्यतिबेला राहत पाए जब अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ १९ अगस्टमा ठूलो पर्दामा रिलिज भयो ।
तर संसारभरी रिलिज भएको बेलबटममाथि खाडीका तीन देशले प्रतिबन्ध लगाएको छ । साउदी अरब, कुवेत र कतारमा यो फिल्मको प्रदर्शनमा अनुमती पाएको छैन ।
फिल्म बेल बटमका निर्माता हुन् मधु भोजवानी, ज्याकी भगनानी, वाशु भगनानी र निखिल अडवाणी ।
बेलबटममाथि तीन खाडी देशमा लागेको प्रतिबन्धमाथि फिल्मका निर्माता मधु भोवानीले भने, ‘फिल्म प्रदर्शन नगर्ने निर्णय हरेक देशको निजी मामिला हो । हामीले एउटा फिल्म बनायौं जुन सत्य घटनामा आधारित छ । त्यो हिसाबले हामीले मानिसहरु वा पात्रलाई दर्साएका छौं । धेरै कुरा काल्पनिक पनि छन् । कुनै देशले यस्तो निर्णय लिएको छ भने त्यो उनीहरुको नीजि मामिला हो । यसबारे हामी केही भन्न सक्दैनौं ।’
चर्चित ट्रेड एनालिस्ट कोमल नाहटाले भने, ‘फिल्मलाई यी तीन देशमा कन्टेन्टमाथि आपत्तिटका कारण रिलिजको अनुमति दिइएको छैन ।’
कन्टेन्टको विषयमा के आपत्ति हुनसक्ला, यसबारे मधु भोजवानीले भने, ‘हामीले यसमाथि कुनै प्रतिक्रिया दिन सक्दैनौं ।’
प्रतिबन्धका कारणः
वास्तवमा यो फिल्म विमान अपहरणको कहानीमा आधारित छ ।
यसको कहानी सन् १९८४ मा भएको एक विमान अपहरणमा आधारित भएको बताइन्छ । त्यतिबेला यात्री विमानलाई अपहरण गरेर लाहौरबाट दुबई ल्याइएको थियो ।
सन् १९८४ मा भएको वास्तविक घटनाका अनुसार संयुक्त अरब इमिरेट्सका तत्कालीन रक्षामन्त्री शेख मोहम्मद बिन राशिद अल मकतूमले व्यक्तिगत रुपमा स्थिति सम्हालेका थिए र संयुक्त अरब इमिरेट्सका अधिकारीले अपहरणकर्तालाई पक्राउ गरेका थिए ।
तर यो फिल्ममा सिक्रेट मिशनलाई भारतीय अधिकारीले नै पूरा गरेको देखाइएको छ । त्यसैले फिल्ममा तथ्यमाथि छेडछाड गरिएको मानिएको छ । यद्यपि, यो फिल्ममाथि लागेको प्रतिबन्धका कारण आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक भएको छैन । एजेन्सी
