आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

बशर अल–असद पुनः बने सिरियाको राष्ट्रपति

परदेशी खबर १४ जेष्ठ २०७८, शुक्रबार १६:३० मा प्रकाशित ( २ साल अघि) ५७० पाठक संख्या

जेठ १४, काठमाडौं । सिरियाको राष्ट्रपति चुनावमा बशर अल–असदले व्यापक जीत हासिल गरेर लगातार चौथो पटक सत्ता आफ्नो हातमा पार्न सफल भएका छन् ।

देशमा बुधबार भएको चुनावमा असदले ९५.१ प्रतिशत मत पाए ।

उनलाई चुनौती दिने दुई उम्मेद्वारमध्ये महमूद अहमद मारीले ३.३ प्रतिशत र अब्दुल्ला सालौम अब्दुल्लाले १.५ प्रतिशत मत हासिल गरे ।

सिरियाको विपक्षी दलले यो चुनावलाई पाखन्ड बताएका छन् । अमेरिका र युरोपेली देशले यो चुनाव स्वतन्त्र र निष्पक्ष नभएको बताए ।

बशर अल–असदले पहिले नै मतदानको विषयमा पश्चिमको प्रतिक्रिया उनको लागि ‘जिरो’ भएको बताएका थिए ।

दमिश्कमा आफ्नो मत हालेपछि असदले भनेका थिए, ‘सिरिया त्यस्तो होइन जसरी उनीहरुले देखाउने कोसिस गरिरहेका छन्, जहाँ एक शहर अर्को शहरसँग लडिरहेको छ, एक समुदाय अर्कोको विरोधी हो, वा जहाँ गृहयुद्ध सुरु भएको छ । आज हामी चुनावमार्फत् यो प्रमाणित गरिरहेका छौं कि सिरियाका जनता एक छन् ।’

सिरियाली राष्ट्रपतिले बुधबार दमिश्क नजिकैको एक इलाकामा मतदानपछि यस्तो भनेका थिए । यो इलाका एक समय विद्रोहीहरुको अखडा थियो जसलाई सन् २०१८ मा सिरियाली सेनाले पुनः आफ्नो कब्जामा लिएको थियो । त्यतिबेला त्यहाँ एक केमिकल हमला भएको पनि आरोप लागेको थियो ।

सिरिया पछिल्लो एक दशकमा संघर्षले ध्वस्त भइसकेको छ जसको सुरुवात मार्च सन् २०११ मा भयो जब त्यहाँ लोकतन्त्रको समर्थनमा प्रदर्शन भए र जसलाई असद सरकारले शक्तिको प्रयोग गर्दै दबाउने कोसिस गरे ।

यो संघर्षमा हालसम्म ३८८,००० मानिसहरुको ज्यान गइसकेको छ । सिरियाका आधा जनसंख्या लडाईंका कारण आफ्नो घरबाट भाग्नु परेको छ । सिरियाका लगभभग ६० लाख मानिसहरु अहिले पनि शरणार्थी बनेर विदेशमा बस्न बाध्य छन् ।

सरकारले भन्यो सबै सामान्य, विपक्षले भने पाखण्डः

सिरियाको राष्ट्रपति चुनावमा सरकारको नियन्त्रण रहेको इलाका र विदेशमा केही सिरियाली दूतावासमा मतदान गराइयो । सिरिया सरकारका अनुसार चुनाव हुनुले यो देखाउँछ कि सिरियामा सबै सामान्य छ र देश भित्र र बाहिरका एक करोड ८० लाख मानिसहरु मतदानमा भाग लिन सक्छन् ।

यद्यपि, देशमा विद्रोहीको नियन्त्रण रहेको प्रान्त इदबिलमा चुनावको विरोधमा एउटा ठूलो प्रदर्शन भयो । यस्तै निर्वासनमा बसेका देशका विपक्षी नेताले यसलाई पाखण्ड बताए ।

सिरियन नेगोसियसन कमिशनका प्रवक्ता याह्या अल–अफरीदीले यो चुनावले सिरियाली जनताको अपमान देखाउने बताए ।

उनले भने, ‘यो रुस र इरानको सहायताले सरकारलाई, राजनीतिक प्रक्रियालाई समाप्त गर्नका लागि लिइएको निर्णय हो । यसले अपराध जारी रहन्छ ।’

फ्रान्स, जर्मनी, इटली, ब्रिटेन र अमेरिकाले मतदान अघि एक संयुक्त बयान जारी गरेर यो चुनावलाई अवैध बताएका थिए र संयुक्त राष्ट्रको निगरानी बिना न यो स्वतन्त्र हुने न नै निष्पक्ष हुने बताएका छ ।

बयानमा भनियो, ‘हामी सिरियाली जनताको आवाजको समर्थन गर्छौं जसमा त्यहाँको नागरिक संगठन र विपक्ष समावेश छन्, जसले चुनाव प्रक्रियालाई अवैध बताएर यसको निन्दा गरेका छन् ।’

सिरिया सरकारले यस्तो समयमा चुनाव गराएको छ जब उसले संयुक्त राष्ट्रको अगुवाइमा एक नयाँ संविधानको मस्यौदा बनाउनका लागि काम गरिरहेको छ । यो नयाँ संविधानको मुख्य उद्देश्य यूएनको निगरानीमा त्यहाँ स्वतन्त्र र निष्पक्ष चुनाव गराउनु हो जसमा लाखौं शरणार्थीसमेत सबै सिरियावासी भाग लिन सकून ।’

शक्तिशाली हुँदै असदः

५५ वर्षीय बशर अल–असद सन् २००० देखि नै सिरियाका राष्ट्रपति बन्दै आएका छन् ।

यसअघि उनका पिता हाफिज अल–असदले सिरियामा एक चौथाई शताब्दीभन्दा बढी समयदेखि राज गरेका थिए ।

सिरियामा यसअघि सन् २०१४ मा चुनाव भएको थियो । त्यतिबेला त्यहाँ देशभरी लडाईं सुरु भएको थियो र विपक्षले चुनावमा समावेश हुन अस्वीकार गरेको थियो ।

यो एकतर्फी चुनावमा ८८ प्रतिशत भोट हासिल गरेर असद लगातार तेस्रो पटक सत्तामा बसेका थिए ।

बीबीसी