आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

इजरेलमा रहेकी नेपाली भन्छिन्: ‘बङ्करमा त्रासमा रात कटाइरहेका छौँ’

परदेशी खबर ३१ बैशाख २०७८, शुक्रबार १३:४६ मा प्रकाशित ( २ साल अघि) ४४५ पाठक संख्या

वैशाख ३१, काठमान्डौ। इजरेल र प्यालेस्टीनको उग्रवादी समूहबीच हवाई आक्रमण चर्किँदा इजरेलमा रहेका नेपालीहरूले त्रासमा बङ्करमा रात कटाइरहेको अनुभव सुनाएका छन्।

इजरेलमा गाजाबाट रकेट आक्रमण हुन थालेपछि आफ्ना पछिल्ला रात बङ्करमा बितिरहेको त्यहाँ एक दशकदेखि कार्यरत बर्दियाकी जानुका घर्ती क्षेत्री बताउँछिन्।

इजरेल र प्यालेस्टीनी विद्रोहीहरू बीचको पछिल्लो आक्रमणको शृङ्खलालाई सन् २०१४ यताकै सबैभन्दा खराब हिंसा भनिएको छ।

गाजा नजिक इजरेलको दक्षिण क्षेत्रमा केअर गिभर रूपमा कार्यरत क्षेत्री जतासुकै खतराको अवस्था भएकाले छिनछिनमै डर लागिरहेको बताउँछिन्।

‘पसिनै पसिना भए’
उनले बीबीसीसँग भनिन्, “पहिला म सहरतिर थिएँ, यस्तो सुनिँदैन थियो। तर अहिले सीमा नजिकै छु र छिनछिनै विस्फोटनको आवाज सुनिएकाले डर लागिरहेको छ।”

उनले थपिन्, “मैले हेरचाह गर्ने ८५-८६ वर्षकी आमा हुनुहुन्छ। उहाँलाई नुहाइदिँदै गर्दा चेतावनी दिने साइरन बज्यो अनि पड्कियो। म डरले पसिनै पसिना भएँ।”

इजरेलतर्फ थप रकेट प्रहार, युद्धको आशङ्का

लडाइँ चर्कँदा गाजासँगको सीमामा इजरेलद्वारा थप फौज परिचालन

आफू चार दिनदेखि बङ्करमा बसेको उल्लेख गर्दै उनले बाहिर निस्कने स्थिति नभएको बताइन्।

घर्ती भन्छिन्, “गाजा क्षेत्र नजिकै भएकाले म काम गर्ने निजी घरभित्रै बङ्कर छ। हामी बङ्करमा नै सुत्ने र भान्सामा खाना बनाएर त्यही लगेर खाने गरिरहेका छौँ।”

घर्तीजस्ता झन्डै दुई हजार नेपाली वैधानिक रूपमा हाल इजरेलमा रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

अरू करिब ८०० नेपाली गैरकानुनी रूपमा इजरेलमा बसिरहेको हुनसक्ने नेपाली अधिकारीहरू बताउँछन्।

‘नेपाली सकुशल’
तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरेले हालसम्म सबै नेपाली सकुशल नै रहेको उल्लेख गर्दै सावधानी अपनाउन भनिएको जानकारी दिए।

उनी भन्छन्, “हामी यहाँ भएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा नै छौँ र राजदूतावासले उहाँहरूलाई सूचना पनि दिइरहेकै छ। अहिलेसम्म कतै पनि नेपालीहरूलाई समस्या नपरेको बुझिएको छ।”

उनले पछिल्लो द्वन्द्वबाट बढी प्रभावित दक्षिणी इजरेलमा कृषिसम्बन्धी अध्ययन र आयआर्जनका लागि लगभग डेढ सय विद्यार्थी आएको र उनीहरूको अवस्था पनि सुरक्षित रहेको जनकारी दिए।

घिमिरे भन्छन्, “त्रासमा हामी सबै छौँ किनभने चेतावनी दिने साइरन राति पनि दुई-तीन पटक सम्म बज्ने गर्छ। म पनि आफ्नो सानो छोरा च्यापेर साइरन बज्ने बित्तिकै सुरक्षित ठाउँतर्फ दौडिने गरेको छु।”

लगातार खतराको घण्टी
घिमिरेले इजरेलमा लगभग सबै घरमा त्यस्ता सुरक्षित बङ्कर हुने भन्दै उनले खतराको सङ्केत दिँदै साइरन बजेको डेढ मिनेटभित्र त्यहाँ गइसक्नुपर्ने बताए।

प्यालेस्टीनी विद्रोही र इजरेलबीचको पछिल्लो आक्रमणमा गाजा र इजरेलका लगभग सबै क्षेत्रमा हवाई आक्रमणहरू भइरहेका छन्।

गाजातर्फबाट आफ्नो भूमिमा प्रहार हुने अधिकांश रकेट इजरेलको आफ्नो आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय तुल्याउने गरेको छ।

उक्त प्रणालीका कारण रकेट भुइँमा खस्न नपाउने भएकाले इजरेलतर्फ मानवीय क्षति कम भएका विवरणहरू आएका छन्।

नेपाल सरकार के गर्दै छ?
रकेट खस्ने अवस्थामा पनि बङ्करमा जान पूर्वचेतावनी दिने साइरन बज्ने भएकाले त्यसैअनुसार सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरिएको छ।

बुधवार राजदूतावासले विज्ञप्ति जारी गर्दै जेरूसेलम र दक्षिण इजरेली क्षेत्रमा सयौँ रकेट आक्रमण भइरहेकाले सबैलाई त्रसित तुल्याएको जनाएको थियो।

नेपाली राजदूत अन्जान शाक्यद्वारा जारी गरिएको सन्देशमा सम्भव भएसम्मका सुरक्षा उपाय अपनाउन र साइरन बज्ने बित्तिकै बङ्कर, वा अन्य सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो।

घिमिरेका अनुसार इजरेलको परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई नियमित रूपमा अवस्थाको जानकारी उपलब्ध गराइरहेको छ।

उनले भने, “हामीले आफ्नो तर्फबाट सबैलाई भनेका छौँ। जहाँसम्म स्थिति बिग्रन्छ कि भन्ने कुरा छ त्यसमा अहिले त्यति अघि पुगेर कुराकानी भएको छैन। इजरेलमा सबै कुरा व्यवस्थित भएका हुनाले डराइ हाल्नुपर्ने अवस्था छैन।”

दुई दिनअघि नेपालको परराष्ट्र मन्त्रालयले इजरेल र प्यालेस्टीनबीच चुलिएको तनावलाई लिएर नेपाल चिन्तित रहेको भन्दै दुवै पक्षलाई अत्यधिक संयम अपनाएर जनधनको थप क्षति रोक्न अपिल गरेको थियो।

नेपालले शान्तिपूर्ण रूपमा समस्याको समाधान खोज्न पनि भनेको थियो।

गएको सेप्टेम्बरमा थप पाँच सय नेपाली कामदारलाई रोजगारी दिने विषयमा नेपाल र इजरेलबीच सम्झौता भएको थियो।

त्यस बेला हिउँद महिनामा नै कामदारहरू लैजाने र यो कार्यक्रमलाई निरन्तरता दिने सहमति भएको भए पनि कोरोनाभाइरसको महामारी सहितका कारणले कार्यान्वयन अघि नबढेको बताइन्छ।

बिबिसी नेपाली बाट