आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

एकै दिन भारतमा ८८ हजारमा संक्रमण, मुम्बईमा लकडाउन गरिँदै

परदेशी खबर २१ चैत्र २०७७, शनिबार १३:१३ मा प्रकाशित ( २ साल अघि) ९५६ पाठक संख्या

चैत २१,काठमाडौं / भारतमा ६ महीनायताकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित देखिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ६६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको संख्या एक करोड २३ लाख ९० हजार ७७५ पुगेको छ।संक्रमण तीव्र रुपमा बढेपछि मुम्बईलगायतका शहरमा लकडाउन गर्न लागिएको छ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अत्यधिक बढेको छ। पछिल्लो २४ घन्टामा ६३४ जनाको मृत्यु भएको छ। यो पनि ६ महीनायताकै सबैभन्दा बढी हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२ पुगेको छ।

अहिले सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउन लाग्नसक्ने बताएका छन्। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ४३ हजार १८३ संक्रमित थपिएका छन्।

मुख्यमन्त्री ठाकरेले संक्रमणको अवस्था गम्भीर बन्दै गएको बताएका छन्। उनले यस्तै अवस्था रहेमा एक दुई दिनभित्रै लकडाउन गरिने बताएका छन्। मुम्बईमा लकडाउन लगाउने तयारी गरिएको छ भने पुणेमा लकडाउन घोषणा गरिएको छ। आगामी आठ दिनका लागि लकडाउन गरिएको हो।

मध्यप्रदेश, महराष्ट्रसँगै राजस्थान र छत्तीसगढको अवस्था पनि बिग्रिदै गएको छ। मध्येप्रदेशमा कोरोनाको दोस्रो लहर आएको छ। मध्यप्रदेशमा २ हजार ७७७ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ।

त्यस्तै, राजस्थानमा एक हजार ३५० संक्रमित थपिएका छन्। छत्तीसगढमा ४ हजार ६१७ संक्रमित थपिएका छन्।

नेपालसँग जोडिएका भारतीय राज्यमा पनि संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा संक्रमण बढ्दै गएको छ।