आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

मेलम्चीको पानी सुरुङबाट आज सुन्दरीजल आइपुग्ने, प्रधानमन्त्री अवलोकन गर्न जाने

परदेशी खबर २२ फाल्गुन २०७७, शनिबार ११:३९ मा प्रकाशित ( ३ साल अघि) ३९६ पाठक संख्या

काठमाडौं : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजल आइपुग्ने भएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुन्दरीजलमा अवलोकन गर्न जाने कार्यक्रमसमेत रहेको छ। फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको हो। 

आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ। 

खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन्।

करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल पुर्‍याउन लागिएको हो। अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल पुर्‍याउन लागिएको छ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

यसअघि असार २१ गते पहिलो पटक सुरुङ परीक्षण गरिएको थियो। त्यसको नौ दिनमा असार ३० गते १७ नम्बर गेटको ढोका फुटेर आयोजनाका कर्मचारीको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि प्राविधिक रूपमा अध्ययन गरी पूर्णरूपमा मर्मत गरेर सुरुङ परीक्षण गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो। उक्त कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई दिइएको थियो। उसले पनि अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। त्यसको सात वर्षपछि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी भएको हो। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।