मंसिर १०, काठमाडौं / अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनलाई चीनका राष्ट्रपति सी चिनफिङले बुधबार बधाई सन्देश पठाएका छन्। सो सन्देशमा राष्ट्रपति सीले चीन र अमेरिकाबीच स्वस्थ र स्थिर सम्बन्ध विकास गर्नु नै दुई देशको हितमा र समग्र विश्वको आकांक्षाअनुरुप हुने बताएका छन्।
वाशिंगटनमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट नवनिर्वाचित वाइडेनलाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया थालेसँगै चिनियाँ राष्ट्रपतिले पनि बधाई सन्देश पठाएका हुन्।
‘हामीलाई आशा छ, दुवै देशले द्वन्द्वरहित, टकरावरहित, आपसी सम्मान र दुवैको जीत हुने सहकार्यको मर्मलाई आत्मसात् गर्नेछन्, द्वन्द्वहरुको व्यवस्थापन तथा नियन्त्रण गर्नेछन् जसबाट स्वस्थ र स्थिर चीन–रुस सम्बन्धको प्रबर्द्धन हुनेछ,’ सीले भनेका छन्, ‘यसरी दुवै देशले अरु हरेक देश र विश्व समुदायसँगको सहकार्यमा विश्व शान्ति र विकासको नयाँ मार्ग तय गर्न सक्नेछन्।’
Century masala 3
त्यसैगरी चिनियाँ उपराष्ट्रपति वाङ चिसानले पनि अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन्।
जर्मन चान्सलर एंगेला मर्केल र बेलायती प्रधानमन्त्री बोरिस जोह्नसन लगायत अन्य देशका नेताहरुले भने बाइडेनले जित घोषणा गरेसँगै तत्काल बधाई सन्देश पठाएका थिए।
चीनले सन्देश पठाउन ढिलाइ गर्दा बिभिन्न अड्कलबाजी भइरहेको थियो।
त्यसो त चीनियाँ अधिकारीहरुले भने अमेरिकाको आन्तरिक मामिलामा कुनै पक्षको साथ लिएजस्तो नदेखियोस् भनी अमेरिकाकै आधिकारिक निकायबाट नै औपचारिक घोषणा नभएसम्म कुनै प्रतिक्रिया नजनाएको बताउँदै आएका थिए। -एससीएमपी
