आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

१७६ जना नेपालीलाई अमेरिकाबाट देश निकालाको आदेश

परदेशी खबर १४ कार्तिक २०७७, शुक्रबार ०७:२५ मा प्रकाशित ( ३ साल अघि) १९० पाठक संख्या

वाशिङ्टन, १४ असोज । आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीले देश निकालाको आदेश पाएका छन् ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् ।

१७१ जना नेपालीहरुले एसाइलम दाबी गरेका थिए भने ५ जनालाई भने आपराधिक पृष्ठभूमिका कारण देश निकालाको आदेश दिइएको थियो । देशनिकालाको आदेश पाउनेहरु न्यूयोर्कमा सबैभन्दा धेरै ७७ जना छन् ।

न्यूयोर्क सिटीको अदालतबाट ५३ जना, ब्रोडवेबाट ८ जना र भेरिक स्ट्रीटबाट ७ जनालाई देशनिकालाको आदेश दिइएको हो । न्यूयोर्कपछि क्यालिफोर्नियाबाट २२, टेक्सासबाट १६, लुजियानाबाट १२, मिनिसोटाबाट ११, जर्जियाबाट ११, भर्जिनियामा ६ जनालाई नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ ।

त्यस्तै मेरिल्याण्डमा ५, मासाचुसेट्समा ५, न्यु मेक्सिकोमा ३, कोलोराडोमा ३, वासिंटनमा १, न्यूजर्सीमा १, पेन्सिलभेनियामा १, फ्लोरिडामा १ र इलिनोयमा १ जना नेपालीलाई देश निकालाको आदेश दिइएको छ ।

गत आर्थिक वर्ष २०१९ मा ३७१ जना नेपालीहरुले अध्यागमन अदालतबाट देशनिकालकाको आदेश पाएका थिए । गत वर्षको तुलनामा यो बर्ष अदालतबाट देश निकालाको आदेश पाउने नेपालीहरु कम रहेका छन् ।

यद्यपी कोरोनाको महामारीपछि मार्चको तेश्रो सातादेखि कोरोनाको महामारीका कारण अदालतमा हिरासतमा हुनेहरुबाहेक अन्यका सुनुवाईहरु स्थगित भएका छन् ।

अमेरिकाको इतिहासमा नै नेपालीहरुले सबैभन्दा धेरै आर्थिक बर्ष २०१९ मा अदालतबाट देश निकालाको आदेश पाएका थिए । सन् २०१८ मा २३२ जना र सन् २०१७ मा १४९ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

सन् २०१५ मा नेपालीहरुले टीपीएस पाएपछि आर्थिक वर्ष सन् २०१६ मा देश निकालाको आदेश पाउने नेपालीहरु निकै कम रहेका थिए । त्यतीबेला जम्मा १२१ जना नेपालीहरुले देश निकालाको आदेश पाएका थिए । एजेन्सी