आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

परदेशी खबर २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ( ५ साल अघि) ४०३ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाडौं : सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुक कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ। 

यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन। अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ। 

मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो। पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिए। 

मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ। सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन मुलुकमा अन्तर्राष्ट्रिय उडान सङ्ख्या थपिएको र अहिले भइरहेका गन्तव्यमा नियमित उडान जारी रहने बताए। 

उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ। 

अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ। थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडान भर्नेछन्। 

कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ।  रासस