आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपाली भूमिमा पनि तारबार नगर्न एसएसबीको धम्की

परदेशी खबर २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ( ६ साल अघि) ११३० पाठक संख्या


साउन ९, कन्चनपुर / भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा समेत तारबार नगर्न धम्की दिएको छ । भीमदत्त नगरपालिका–९ ब्रम्हदेबको सिद्धनाथ सामुदायिक वनले सार्वजनिक जमिन संरक्षण तथा पर्यावरण संरक्षणका लागि तारबार गरेकोमा एसएसबीले अनावश्यक निहुुँ खोज्दै रोक्न धम्की दिएको सिद्धनाथ सामुदायिक वनका सहसचिव रमेश धानुकले बताए ।

बिज्ञापन (Sponsored)

सामुदायिक वनले खाली रहेको वनकै क्षेत्रको सार्वजनिक जमिन संरक्षण गरी वृक्षारोपण कार्यक्रम थालेको छ । तर, भारतीय एसएसबीले अनावश्यक विवाद झिक्दै आएको छ । ‘हाम्रै नेपाली भूमि हो, वर्षौँदेखि बाँझो थियो,’ धानुकले भने, ‘अहिले त्यो सफाइ गरेर चारैतिर घेरबार गरेर वृक्षारोपणको कार्यक्रम अघि बढाउने क्रममा भारतीय एसएसबीबाट धम्की आइरहेको छ ।’

एसएसबीले काम भइरहेका वेला आएर विवादित जमिन भन्दै अवरोध गरिरहेको उनले बताए । एसएबसीले ब्रम्हदेव क्षेत्रमा जहिले पनि अनावश्यक अवरोध र हस्तक्षेप गर्दै आएको छ । दुई वर्षअघि पनि ब्रम्हदेव क्षेत्रमा सडक बनाउँदा र तीनजना मुक्त हलिया परिवारले घर बनाउँदासमेत एसएसबीले अवरोध गरेको थियो ।

आफ्नै भूमिको संरक्षण गर्दा भारतीय पक्षबाट अवरोध भएपछि स्थानीयले भारतको विरोध गरेका छन् । भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले पटकपटक भारतीय पक्षले ब्रम्हदेवस्थित नेपाली भूमिमा हस्तक्षेप र अवरोध कार्य गर्दै आएको भन्दै सो कार्य निन्दनीय भएको बताए । ‘भारतले दशगजामा धमाधम संरचना बनाउँछ,’ उनले भने, ‘हामीले आफ्नै भूमिमा संरचना बनाउँदा अनावश्यक विवाद गर्छ ।’ भारतीय पक्षको सो कार्य नेपालमाथिको ठाडो हस्तक्षेप भएको उनले बताए ।

कञ्चनपुरको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले ब्रम्हदेवमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको बताएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहुले ब्रम्हदेवको समस्या समाधानका लागि भारतीय पक्षबाट समन्वय भइरहेको बताए । नया पत्रिकामा समाचार रहेको छ।