आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सनसिटी अपार्टमेन्टका दुई सय ९८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

परदेशी खबर २०७७ बैशाख ३, बुधबार मा प्रकाशित ( ६ साल अघि) १७५ पाठक संख्या

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-९  पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। 

बिज्ञापन (Sponsored)

र्‍यापिड डाइग्नोस्टिक टेष्टमार्फत बुधबार परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए।

बुधबार बिहानदेखि स्वास्थ्य मन्त्रालयको टोलीले कोरोना परीक्षण गरेको थियो। अन्यको परीक्षण बिहीबार हुने मेयर थापाले जानकारी दिए। मंगलबार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो। स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरेको हो।  बुधबार तीनवटा टेबुलबाट परीक्षण भएको हो।

अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन्। उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो। मंगलबार एक ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो। 

नगरपालिकाले अपार्टमेन्ट आसपासका क्षेत्रमा कडाइ गरेको छ। कोरोना जोखिम बढेपछि उक्त क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ।

वडाले एक सूचना जारी गर्दै खाद्यान्न, तरकारी र डेरी पसल बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र संचालन गर्न अनुरोध गरेको छ। मासु पसल, मदिरा पसल, घुम्ती ठेलागाडा, फुटपाथ अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने वडा कार्यालयले जनाएको छ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि नगरबासीलाई अनुरोध गरेको छ। पासबिना सवारी चलाएको पाएमा कारबाही हुने नगर प्रमुख थापाले बताए। 

नगरभित्र कोरोना परीक्षणमा तीव्रता 

सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना भाइरस संक्रमण देखिएपछि नगरपालिकारले उच्च सतर्कता अपनाएको छ। नगरभित्र रहेका विदेशबाट आएकाको कोरोना परीक्षणलाई तीव्रता दिएको हो। 

मंगलबार मात्रै ५ र ६ नम्बर वडामा कोरोना परीक्षण गरेको छ। विदेशबाट आएका तर होम क्वारेन्टाइनमा बसेका ५० जनाको र्‍यापिड टेष्टबाट परीक्षण गरेको कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर बिन्दु पुडासैनीले जानकारी दिइन्। 

नगरपालिकाभित्र कोरोना जोखिम सम्भावनालाई मध्यनजर गर्दै भाइरस संक्रमणबारे माइकिङमार्फत सचेतना बढाएको छ। नगरबासीलाई सही ढंगले मास्क प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन,अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्क‍न, छरछिमेक र टोलमा भीडभाड नगर्न अनुरोध गरेको छ। नगरले लकडाउन सफल पार्न सबै नगरबासीलाई अनुरोध गरेको छ।

नगरपालिकाले मास्क वितरण गर्नुका साथै नगरभित्र रहेका मजदुरलाई खाद्यान्न वितरण गरेको छ। यो खबर अन्नपूर्ण                            

पोस्टले प्रकाशित गरेका छन ।