ताप्लेजुङ,। ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर पक्ष र विपक्षबिचको विवाद पुनः उत्कर्षमा पुगेको छ। केबलकार निर्माणको समर्थन गर्ने पक्षले आयोजना तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् भने ‘नो केबलकार’ पक्षधरले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
शनिबार ताप्लेजुङमा आयोजित एक पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको ६० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्नुभयो। उहाँले केबलकार निर्माणले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समेत योगदान पुर्याउने भन्दै सुरक्षित वातावरणमा आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो। नगरप्रमुख मादेनले ताप्लेजुङका बहुसंख्यक स्थानीय, जनप्रतिनिधि र राजनीतिक दल केबलकारकै पक्षमा रहेको दाबी गर्दै केही व्यक्तिले मन्दिर क्षेत्र भत्किने गलत भाष्य बनाएर विरोध गरिरहेको आरोप लगाउनुभयो। उहाँले प्रकृति, संस्कृति र स्थानीयको रोजगारीको विषयमा छलफल गर्न सकिने तर विकास नै रोक्ने अडान लिनु समृद्धिमाथिको धोका हुने बताउनुभयो।
यसैबिच, केबलकार निर्माण युवा सहजीकरण समितिका संयोजक पदमचेञ्जी मावोले बाहिरबाट मान्छे ल्याएर ताप्लेजुङका जनतामा त्रास र आतङ्क फैलाउन खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ। ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले निजी लगानीको सुरक्षा र शान्तिपूर्ण वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। त्यस्तै, होटेल व्यवसायी सुरेश लिम्बू र जेन जी ताप्लेजुङका सहसंयोजक विकास लिम्बूले केबलकारले पर्यटन र आर्थिक गतिविधि बढाउने धारणा राख्नुभयो।
अर्कोतर्फ, केबलकार निर्माणको विरोध गर्दै आएको ‘मुक्कुमलुङ केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति’ ले जेठ महिनाभरका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूका अनुसार जेठ ५ गते राजनीतिक दलसँग अन्तरक्रिया, ७ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, ९ गते संघसंस्थासँग अन्तरक्रिया, ११ गते कालो झण्डासहित कोणसभा, १६ गते फुङलिङमा जनप्रदर्शन र १७ गते मुक्कुमलुङ क्षेत्रमा वृक्षारोपण गर्ने कार्यक्रम तय गरिएको छ। विपक्षी घटकहरूले माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेका छन्।
