काठमान्डौ। जुम्लाका नागरिकले अब राहदानी (पासपोर्ट) लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नयाँ सरकारको शासकीय सुधारका ‘सय कार्यसूची’ अन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाले नागरिकको घरदैलोमै राहदानी पुर्याउने सेवाको औपचारिक सुरुवात गरेको हो।
यो सेवालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच बुधबार द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार राहदानी वितरण प्रक्रियालाई व्यवस्थित गर्न हुलाकका एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै खटिनेछन्। विभागबाट प्राप्त भएका राहदानीहरू प्रशासनले हुलाकलाई हस्तान्तरण गर्नेछ र हुलाकका कर्मचारी (हल्कारा) ले सम्बन्धित व्यक्तिको घरमै पुगेर राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार सेवा प्रवाहलाई नागरिकमैत्री, छिटो र छरितो बनाउने सरकारको अभियान अन्तर्गत यो कदम चालिएको हो। अब जुम्लाका आठवटै स्थानीय तहका नागरिकले आफ्नै घरमा राहदानी प्राप्त गर्नेछन्। यसका लागि सम्बन्धित लाभग्राहीले राहदानी बुझ्दा ५५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तीन पुस्ते विवरण रुजु गरेर मात्र राहदानी हस्तान्तरण गरिनेछ।
हुलाक कार्यालयका निमित्त प्रमुख गणेशदत्त रावलले प्रशासनबाट राहदानी प्राप्त भएको तीन दिनभित्रै सम्बन्धित सेवाग्राहीको हातमा पुर्याउने वातावरण मिलाइएको जानकारी दिनुभयो। यो नयाँ व्यवस्थासँगै राहदानी लिन सदरमुकाम आउँदा हुने समय र खर्चको बचत हुने भएपछि स्थानीय नागरिकले ठुलो राहत महसुस गरेका छन्।
