कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ वन्यजन्तु अवलोकनका लागि पर्यटकहरूको रोजाइको गन्तव्य बन्न थालेको छ। चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै २ हजार ६ सय ३४ जना पर्यटकले यस निकुञ्जको भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयका अनुसार भ्रमण गर्नेहरूमा १ हजार ६ सय २९ पुरुष र १ हजार ५ जना महिला रहेका छन्।
भ्रमणकर्ताहरूको विवरण हेर्दा आन्तरिक पर्यटकको बाहुल्यता देखिएको छ। कुल पर्यटकमध्ये २ हजार २ सय ७८ जना नेपाली रहेका छन् भने सार्क मुलुकका २४४ जना र अन्य विदेशी मुलुकका ११२ जनाले निकुञ्ज अवलोकन गरेका छन्। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार यस अवधिमा सबैभन्दा बढी पर्यटक गत चैत महिनामा ६ सय २१ जना पुगेका थिए। त्यस्तै कात्तिकमा ५८०, मङ्सिरमा २९३, पुसमा ३७६, माघमा ३६९ र फागुनमा ३८६ जना पर्यटकले निकुञ्जको सयर गरेका छन्। पर्यटक आगमनबाट निकुञ्जले १४ लाख ६७ हजार ४८६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कोभिड-१९ को महामारीपछि विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा यो सङ्ख्या क्रमशः बढ्दै गएको छ। नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, बाह्रसिङ्गे र विभिन्न दुर्लभ वनस्पतिहरूको सहजै अवलोकन गर्न सकिन्छ। प्राकृतिक शान्त वातावरण र अध्ययन-अनुसन्धानका लागि उपयुक्त क्षेत्र भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित भइरहेका छन्।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ७६२ र आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ३२२ जनाले निकुञ्जको भ्रमण गरेका थिए। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु देख्न सकिने भएकाले शुक्लाफाँटाको पर्यटकीय सम्भावना उच्च रहेको बताए। उनले शुक्लाफाँटाको जैविक विविधताबारे अझ व्यापक प्रचारप्रसार गर्न सके पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सकिनेमा जोड दिएका छन्। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विशेषगरी बाह्रसिङ्गेका लागि विश्वमै प्रसिद्ध छ, जहाँ हाल २ हजार ३ सय २३ भन्दा बढी बाह्रसिङ्गा रहेका छन्। रासस
