आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

बजार अभाव र सिन्डिकेटले किसानको तरकारी सडेर नष्ट, करोडौँको क्षति

परदेशी खबर २०८३ बैशाख १२, शनिबार मा प्रकाशित ( ३ महिना अघि) १०४ पाठक संख्या

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार प्रालीमा ल्याइएका तरकारीहरू बिक्री हुन नसकी सडेर नष्ट भएपछि किसानहरू ठुलो मर्कामा परेका छन्। देशका विभिन्न जिल्लाबाट मिहिनेतका साथ उत्पादन गरेर थोक बिक्रीका लागि ल्याइएका काउली, मुला, फूलगोभी लगायतका तरकारीहरू ग्राहक र उचित बजारको अभावमा कुहिएर फाल्नुपर्ने अवस्था आएको हो।

बिज्ञापन (Sponsored)

बुटवल उपमहानगरपालिका–६ मा रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ लगायत अन्य हाटबजारमा समेत स्वदेशी उत्पादनले प्रवेश र बिक्रीको वातावरण नपाउँदा तरकारी सुकेर र कुहिएर खेर गइरहेको किसानहरूको गुनासो छ। बजारमा व्याप्त व्यापारीहरूको सिन्डिकेट र पहुँचवालाहरूको दबदबाका कारण नयाँ किसानहरूले आफ्नो उत्पादन बिक्री गर्न नपाएको आरोप लगाइएको छ। उत्पादन गरेर बजारसम्म ल्याउँदा समेत उचित व्यवस्थापन नहुँदा किसानहरूले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।

नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रीता केसीले बुटवलस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रमा व्यापारीहरूको सिन्डिकेटका कारण स्वदेशी कृषि उपज विस्थापित भएको दाबी गरिन्। भारतीय तरकारी तथा फलफूलले नेपाली बजारमा सहजै स्थान पाउने तर आफ्नै देशका किसानको उत्पादनले ठाउँ नपाउनु दुःखद र चिन्ताजनक रहेको उनले बताइन्।

अध्यक्ष केसीका अनुसार बुटवल कृषि उपज थोक बजार केन्द्रको पुनः टेन्डर प्रक्रियामा भइरहेको ढिलाइको फाइदा उठाउँदै व्यापारीहरूले किसानका लागि छुट्याइएका सटरहरू कब्जा गरेका छन्। विभिन्न जिल्लाबाट आएका तरकारी बोकेका गाडीहरूले बजारमा स्थान नपाएको र बाध्य भएर अन्य हाटबजारमा गाडीमै राखेर बेच्न खोज्दा समेत अवरोध व्यहोर्नुपरेको उनले जानकारी दिइन्।

बजार व्यवस्थापनको कमजोरी र सरकारी निकायको उदासिनताका कारण लाखौँ रुपैयाँ बराबरको उत्पादन सडकमा फाल्नुपर्ने स्थिति आएपछि किसानहरू आक्रोसित बनेका छन्। मिहिनेतको फल सडेर जाँदा भएको यो क्षतिको पूर्ति स्थानीय, प्रदेश वा संघीय सरकारमध्ये कसले गरिदिने भन्दै पीडित किसानहरूले प्रश्न गरेका छन्।