आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024
FLASH NEWS

प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु हुन्छ

परदेशी खबर २९ आश्विन २०७९, शनिबार १८:५३ मा प्रकाशित ( १ साल अघि) ३५० पाठक संख्या

काठमाडौं, २९ असोज । नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनपछि लागेको रोगले ७५ जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल, द युनियन लगायतका संस्थाको संयुक्त रूपमा आयोजना गरेको “सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारको जिम्मेवारी” सम्बन्धी कार्यक्रममा बोल्दै विज्ञले नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु हुने जानकारी गराउनुभएको हो।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सन् २०२० मा नेपालमा सुर्तीजन्य पदार्थको सेवन ३.८ मिलियन मानिस छन्। विश्वमा १.३ बिलियन मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्दछन्। तथ्याङ्क अनुसार सुर्तीजन्य पदार्थको सेवनले नेपालमा २७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको देखिन्छ। अहिलेसम्म विश्वमा आठ मिलियन मानिसको मृत्यु सुर्तीजन्य रोगका कारण भएको तथ्याङ्कले देखाएको छ।

सुर्तीजन्य पदार्थले मुटुसम्बन्धी समस्या, क्यान्सर, फोक्सोसम्बन्धी समस्या र अन्य नसर्ने रोग लाग्ने गर्दछन्। अध्ययन अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने ५० प्रतिशत मानिसको मृत्यु हुने देखाएको छ।

विश्वमा प्रत्येक वर्ष आठ मिलियन भन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगले हुने गर्छ। जसमध्ये सात मिलियन मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रत्यक्ष प्रयोगले हुन्छ भने १.२ मिलियन मानिसको मृत्यु अरूले खाएको चुरोटको धुवाको असरले हुने अध्ययनले देखाएको छ। फोक्सोको क्यान्सरबाट संसारभर सबैभन्दा बढी मानिसको मृत्यु हुने डा. शाही बताउनुहुन्छ। फोक्सोको क्यान्सरबाट मृत्यु हुनेमध्ये ८० प्रतिशत मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगले हुने गर्छ।

डा. शाही अनुसार सन् २०२२ मा नेपालमा थप पाँच हजार फोक्सोको क्यान्सरका बिरामी थपिएका छन्। जसमध्ये चार हजारको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने अनुमान छ। सुर्तीजन्य पदार्थमा ७० प्रकारका क्यान्सर बनाउने तत्त्व हुन्छ। यसमा एक प्रकारको निकोटिन हुने गर्छ। जसमा चुरोट सेवन गरेको सात सेकेण्डमा कलेजो, फोक्सोमा पुगेर कोषिकालाई मारेर दीर्घकालीन समस्या नित्याउने गर्छ। सुर्तीजन्य पदार्थको सेवन नगर्ने डा. शाहीको सुझाव छ। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन निर्देशिका नियमावली, कानुन भए पनि कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्राले स्वास्थ्य सम्बन्धी ऐनलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो। त्यसको लागि सबैको सहकार्यमा पालिकालाई सुर्तीजन्य पालिका बनाएर अगाडि जानुपर्नेमा जोड दिनुभएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले अभियान सुरु भइसकेकोले सबैको सहयोगले मात्रै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन निर्देशिका नियमावली, कानुन कार्यान्वयनमा सहज हुने उल्लेख गर्नुभयो।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालमा दक्षिण एसियाका अन्य राष्ट्रका लाग्ने करको दरभन्दा कम भएको कर बढाउनुपर्ने जोड दिनुभयो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार चुरोटको खुद्रा मूल्यमा कर ७५ प्रतिशतभन्दा माथि हुनुपर्दछ।

नेपालले सुर्तीजन्य पदार्थका बट्टा प्याकेट, पेटी तथा पार्सल प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका–२०७१ लाई तत्काल पूर्ण कार्यान्वयन लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।
score by gorkhapatra