आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

कतारमा पक्राउ परेका ५ नेपालीको अवस्था अज्ञात

परदेशी खबर ३० कार्तिक २०७५, शुक्रबार ११:४१ मा प्रकाशित ( ५ साल अघि) ८३ पाठक संख्या

दोहा  : तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी निकाय पनि मौन देखिएका छन् ।

सांकेतिक तस्बिर

पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल छन् । क्षत्री शाखाका उपाध्यक्षसमेत हुन् ।

अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । गायक प्रकाश सपुतको ‘बोल माया’ गीतमा रोजगारदाताले कामदारलाई दिएको पीडा अभिनयमार्फत् प्रस्तुत गरिएको थियो । नेपालबाट कतार आउँदा रोजगारदाताको शोषणमा पर्ने र अन्ततः मृत्यु भइ बाकसमा फर्कनुपर्ने अवस्थाको चित्रण अभिनयमा गरिएको थियो । अरबी पोसाक (कन्दुरा) लगाएको कतारी मालिकले नेपाली कामदारमाथि ज्यादती गरेको दृश्य देखाइएको थियो ।

अक्टोबर १८ मा सादा पोसाकमा आएका प्रहरीले उनीहरूलाई पक्रेको हो । पक्राउ परेकामध्ये शर्मालाई भने गत बिहीबार करिब १५ मिनेट परिवारसँग कुरा गर्न दिइएको थियो । अन्यलाई आफन्तसँग भेट्न तथा कुरा गर्न दिइएको छैन ।

एनआरएन संयोजक शर्मा उक्त कार्यक्रमका अतिथि थिए । उनलाई सुरक्षा निकायले त्यस किसिमको कार्यक्रम किन नरोकेको भनी सोधखोज गरिरहेको जनाएको छ ।

अभिनयको भिडियो युट्युबमा राखिएपछि कतार सरकारले अनुसन्धान सुरु गरेको थियो । त्यसपछि अभिनयमा संलग्न कलाकार र शर्मालाई प्रहरीले समातेको हो ।

नेपाली समुदायको हकहित भन्दै सहयोग र उद्धारमा हिँडिन्छ । कुनै पनि बेला पक्राउ परियो भने हामीलाई कसैले नहेर्ने रहेछ । गोपाल नेपाली, नेपाली कामदार

एनआरएन अन्तर्राष्ट्रिय समितिले उनीहरूको रिहाइको पहल गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ । ‘मध्यपूर्व संयोजक शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेको विषयले गम्भीर ध्यानाकर्षण गराएको छ,’ एनआरएन प्रवक्ता भूषण घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संयोजक शर्माबारे विभिन्न समाचार र सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीको खण्डन पनि एनआरएनएले गरेको छ ।

बेखबर सरकार

उनीहरूको अवस्थाबारे हालसम्म नेपाल सरकार समेत बेखबर छ । उनीहरूलाई रिहाइ गर्न सरकारले हालसम्म कुनै तत्परता देखाएको छैन । नेपाली दूतावास दोहाका सूचना अधिकारी नितेश सापकोटाले घटनाबारे जानकारी नभएको बताए । घटनाबारे राजदूतलाई सोध्न र जानकारी लिन सापकोटाले सुझाव दिए ।

दूतावासका सापकोटा मात्र होइन कतारका नेपाली अगुवा र सामाजिक अभियन्ता पनि घटनाबारे मौन छन् । सामाजिक सञ्जाल र मोबाइल ट्रयाक हुनसक्ने भन्दै उनीहरूले यसबारे केही नसोध्न आग्रह गरे । केही बोले आफूहरूलाई पनि समस्या पर्नेमा उनीहरू त्रसित थिए । ‘छिमेकी देशको नाकाबन्दीका कारण कतार अप्ठेरो परिस्थितिमा छ । त्यसैले आफ्नो देशप्रति भएको टीकाटिप्पणीबारे कतारले चासो राखेको हुनुपर्छ’, १५ वर्षदेखि कतारमा कार्यरत एक नेपालीले भने, ‘उनीहरूलाई लगाइएको आरोप र रिहाइको पहलबारे हामीलाई जानकारी छैन।’

एनआरएन महासचिव डा.बद्री केसीले उनीहरूको रिहाइका लागि नेपालमा रहेको कतारी दूतावास र परराष्ट्र मन्त्रालयमा निवेदन दिने बताए । ‘राजेन्द्रकुमारजीलाई पक्रनुपर्ने कारणबारे परराष्ट्र मन्त्रालयमार्फत सबै च्यानल प्रयोग गरेका छौं, अहिलेसम्म पक्राउ गर्नुपर्ने ठोस कारण पाएनौं’, केसीले भने ।

कतारमा नेपाली पक्राउ परेको समाचार आएपछि चाडपर्व मनाउन स्वदेश फर्केकाहरू त्रसित देखिएका छन् । ‘नेपाली समुदायको हकहित भन्दै सहयोग र उद्धारमा हिँडिन्छ, कुनै पनि बेला पक्राउ परियो भने हामीलाई कसैले नहेर्ने रहेछ’, अन्नपूर्णको सम्पर्कमा आएका गोपाल नेपालीले भने, ‘पक्राउ गरेर पनि जानकारी गराए त हुने, बेपत्ता नै पार्दो रहेछ ।’ सम्पर्कमा आएका केही नेपालीले पक्राउ परेकाको तुरुन्त रिहाइ नभए अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने सुझाव दिए ।

अन्नपूर्णपोष्टबाट