आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

विमानस्थलमा सर्वसाधारणलाई प्रवेश निषेध

परदेशी खबर ११ भाद्र २०७५, सोमबार ०५:५० मा प्रकाशित ( ५ साल अघि) १६० पाठक संख्या

काठमाडौ ११,भदौ | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका विमानस्थल प्रवेश निषेध गरेकाे छ।

बिमस्टेक सम्मेलन देशकै प्रतिष्ठाका रुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरिएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने हुँदा अनावश्यक व्यक्ति प्रवेश नगर्न अनुरोध गरेको छ।

कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्नेछन्। यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश सुविधा सम्मेलन अवधिभर नहुने विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए।

मुख्य द्वार नजिकै प्रहरी चेकिङस्थलमा अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशका कारण बताएर मात्रै विमानस्थल प्रवेश गर्न सक्नेछ। सहयोगीको रुपमा भित्र प्रवेश गरेको व्यक्तिले यात्रु चेकिङका लागि डिपार्चरतर्फ लामबद्ध हुनासाथ (१०–१५ मिनेट सम्ममा) विमानस्थलबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ।

विमानस्थल सेवाप्रदायक व्यक्तिका सवारी साधनबाहेक अन्य यात्रु संबद्ध सवारी साधनको हकमा यात्रु लिइ आउने जुनसुकै साधन यात्रु तथा समान अवतरण गर्नासाथ पार्किङतर्फ नगई तत्कालै बाहिर प्रस्थान गर्न गर्नुपर्ने छ।

विमानस्थल पास भएका वा परिचयपत्र भएका तथा यात्रु लिइ आएका बाहेक अन्य खाली ट्याक्सीलाई प्रवेश निषेध गरिएको छ।

यात्रुसँग पहिले नै सम्पर्क/पहिचान भई लिन आउने होटलका वा निजी गाडीको हकमा जहाज अवतरण समयको १० मिनेटअघि मात्र प्रवेश भई यात्रु लिएर तत्काल फिर्ता हुनुपर्ने छ। रासस