आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

भक्तपुरमा खुलमखुला विद्युत चोरी

परदेशी खबर २० पुष २०७७, सोमबार ०७:५२ मा प्रकाशित ( ३ साल अघि) ८४ पाठक संख्या

 

भक्तपुरको सूर्यविनायक नपास्थित एक ग्रामीण क्षेत्रमा विद्युत प्रशारण लाइनमै विद्युत चोरी गर्न गरिएको हुकिङ – ईश्वरकाजी खाइजू

भक्तपुर : कोरोना भाइरस संक्रमणको फाइदा उठाउँदै भक्तपुरमा खुलमखुला विद्युत चोरी हुन थालेको छ। कोरोना भाइरस संक्रमण हुने डरले नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियान रोकेको थियो। त्यसैको फाइदा उठाउँदै भक्तपुरका ग्रामीण क्षेत्रमा खुलमखुला विद्युत चोरी हुन थालेको हो।

 

पछिल्लो समय नगरपालिका घोषित भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगर क्षेत्रका ग्रामीण क्षेत्रमा विद्युत चोरी बढेको केन्द्र प्रमुख राजकुमार रमण बताउँछन्। उनले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि सरकारले लकडाउन घोषणा गरिएसँगै विद्युत चुहावट नियन्त्रण अभियान स्थगित गरिएको जानकारी दिए।

उनका अनुसार पहिले दैनिकजसो चुहावट नियन्त्रण अभियानका कर्मचारीहरु परिचालन भएका थिए। तर लकडाउन सुरु भएदेखि अभियान अघि बढ्न सकेको छैन। जसले गर्दा ग्रामीण क्षेत्रमा रहेका नांगा तारमै स्थानीय हुकिङ गरेर विद्युत चोरी गर्न थालेका छन्।

केन्द्रका अनुसार सूर्यविनायक र चाँगुनारायण नपाका ग्रामीण क्षेत्रमा विद्युत प्रशारण लाइनमै हुकिङ गरेर विद्युत चोरी गर्न थालेको जनगुनासो आएका छन्। केन्द्रका प्रमुख रमणले चुहावट अभियान रोकिए पनि चुहावट कारबाही भने नरोकिएको जानकारी दिए।‘पछिल्लो समय विद्युत चुहावट नियन्त्रण अभियान नियमित हुन सकेको छैन’, उनले भने, ‘तैपनि चुहावटमा कारबाही निरन्तर भइरहेको छ। कारबाही पनि खाली छैन।’

उनले केन्द्रमा एबीसी इन्सुलेट तार नहुँदा नांगा तार हटाउन नसकिएको स्पष्ट पारे। नांगा तारलाई विस्थापन गर्न नसकिँदा पनि ग्रामीण क्षेत्रमा हुकिङ गर्ने क्रम नरोकिएको उनको भनाइ थियो।

उनका अनुसार केन्द्रअन्तर्गत अझै करिब ६ किलोमिटर नांगो तार विस्थापन गर्न बाँकी छ तर प्राधिकरणको केन्द्र र भक्तपुर वितरण केन्द्रमा अहिले एबीसी इन्सुलेट तारको अभाव रहेको उनी बताउँछन्। ‘प्राधिकरणमा एबीसी इन्सुलेट तार मागिरहेको महिनौं भइसक्यो तर पाउन सकिएको छैन’, प्रमुख रमणले थपे, ‘त्यसैले नांगा तार फेनै सकिएको छैन।’ ग्रामीण क्षेत्रमा विद्युत चोरी बढे पनि समग्र केन्द्रको चुहावट नबढेको उनले जिकिर गरे।

भक्तपुरले विद्युत चुहावट नियन्त्रणमा रेकर्ड नै राखेको थियो। आर्थिक वर्ष २०७१-७२ मा भक्तपुरमा ६३ प्रतिशत विद्युत चुहावट भइरहेको थियो। जसले गर्दा विद्युत चुहावटको कारण भक्तपुरले बदनामी खेपिरहेको थियो। जसै २०७२ को भूकम्पपछि विद्युत चुहावट नियन्त्रण अभियान सुरु गरियो, त्यसै वर्ष चुहावट घटेर एकैबाजी ३७.०३ प्रतिशत झरेको केन्द्रको तथ्यांकले देखाउँछ। त्यस्तै आर्थिक वर्ष २०७३-७४ मा २८.०८ प्रतिशत र आर्थिक वर्ष २०७४-७५ मा १८.५९ प्रतिशत चुहावट घट्यो।

आर्थिक वर्ष २०७५-७६ मा विद्युत चुहावट १३.०६ प्रतिशतमा झारेर भक्तपुर वितरण केन्द्रले पहिलोपटक लक्ष्यभन्दा बढी चुहावट नियन्त्रण गरेर रेकर्ड राखेको थियो। उक्त वर्ष प्राधिकरणको केन्द्रीय कार्यालयले भक्तपुरलाई विद्युत चुहावट नियन्त्रण गर्न १५ प्रतिशत लक्ष्य दिएको थियो।

भक्तपुर केन्द्रले उक्त रेडर्कसमेत आर्थिक वर्ष २०७६-७७ मा ब्रेक गरेको थियो। केन्द्रका प्रमुख रमणले गएको आर्थिक वर्षमा विद्युत चुहावट नियन्त्रण ७.९७ प्रतिशतमा झार्न सफल भएको बताए। उनका अनुसार गत वर्ष केन्द्रीय कार्यालयले भक्तपुर वितरण केन्द्रलाई ९.७५ प्रतिशत लक्ष्य दिएको थियो। प्रमुख रमणले चालू आर्थिक वर्षमा भने प्राधिकरणको केन्द्रीय कार्यालयले विद्युत चुहावट नियन्त्रण गर्न ६.५ प्रतिशतको लक्ष्य दिएको छ।‘कार्तिकसम्म विद्युत चुहावट नियन्त्रण लक्ष्यभित्रै छौं’, उनले भने, ‘अहिलेसम्म विद्युत चुहावट बढेको देखिएको छैन।’ यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।